arrow

विष्फोटका कयौँ घटनापछि मात्रै गृहले सुरक्षा रणनीति फेर्‍यौँ भन्यो

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
Home_ministry_nepal.jpg.jpeg

काठमाडौं । विष्फोटका कयौँ घटनापछि मात्रै गृह मन्त्रालयले सुरक्षा रणनीति परिवर्तन गरेको सुनाएको छ । गृहकै अनुसार चुनावी गतिविधिलाई लक्षित गरी अहिलेसम्म ५० स्थानमा विष्फोट भइसकेको छ । गृहले अहिले आएर सुरक्षा रणनीति नै फेरिएको र सुरक्षा व्यवस्था कडा हुने जनाएको हो ।

गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरेर अब सुरक्षा व्यवस्था थप कडा हुने जानकारी दिएको छ । चुनावी सभा र उम्मेदवारलाई नै निशाना बनाउन थालिएपछि सुरक्षाका सबै निकायसँग बैठक गरेको गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए ।

उनले गृहले नयाँ रणनीति लिएको बने जनाएपनि रणनीति कस्तो हुने भन्नेबारेमा जानकारी दिएनन् । पत्रकार सम्मेलनमा उनले भने, ‘छिटफुट रुपमा जे जति घटना भएका छन् अब नियन्त्रणमा आउँछन् । सुरक्षा जाँच र स्थल सुरक्षाका लागि व्यापक रुपमा सुरक्षाकर्मीको परिचालन गरिएको छ ।’

निर्वाचन विथोल्ने गतिविधिमा संलग्न भएकाहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता दुवाडीको भनाई छ । उनले अगाडि भने, ‘अब कसैले आत्तिनुपर्ने र असुरक्षित महसुस गर्नुपर्ने छैन । सुरक्षा रणनीति पनि परिवर्तन गरेका छौं ।’  

गृहले सुरक्षाकर्मीको उपस्थिति बढाउने कार्यलाई तिब्रता दिएको समेत उनले बताएका छन् । पूर्व प्रहरी प्रमुखहरुले भने गृहमन्त्रालयले सुरक्षाकर्मीको उपस्थितिमात्रै बढाईरहेको र समन्वय तथा सूचना संकलनमा चुकेको टिप्पणी गरेका छन् ।

उनीहरुले भनेका छन्, ‘मान्छेमात्रै उभ्याएर सुरक्षा व्यवस्था चुस्त हुँदैन । चारै सुरक्षा निकायकाबीचको समन्वय र सूचना आदानप्रदान प्रभावकारी हुन सक्नु पर्दछ ।’ अतिनै मसिनो ढंगले सुरक्षा चुनौतीहरुको पहिचान गरि कारबाही गर्न सक्नु पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ