arrow

हेभन होटलमा कालोमोसो दलेको हातहरुले कसरी भोट देलान् लिङ्देनलार्इ ?

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
Rajendra-Lingden.jpg

झापा । एघार वर्षअघि शाही मतियार भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनलाई माओवादी कार्यकर्ताहरुले बिर्तामोडको होटल हेभनमा कालोमोसो दलेका थिए । त्यसबेला दुब्र्यबहार गर्ने माओवादी कार्यकर्ताहरुमाथि अहिले एउटा जटिल नैतिक प्रश्न खडा भएको छ । तिनै राजतन्त्रका मतियार भनेर आरोप लगाईएका लिङ्देनलाई जिताउन झापा क्षेत्र ३ का मतदाताकहाँ जानुपर्ने बाध्यता माओवादी कार्यकर्ताहरु माथि देखिन्छ । आफूलाई गणतन्त्रका पक्षपाती ठान्ने माओवादीका कार्यकर्ताले कुन मुखले लिङ्देनलाई मत माग्छन् भन्ने नैतिक प्रश्न भने उनीहरु माथि खडा भएको छ ।  

झापाको क्षेत्र नं ३ मा राप्रपाका महामन्त्री लिङदेन बाम प्रगतिशील राष्ट्रवादी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन लड्दै छन् । तिनै लिङदेनका लागि अहिले माओवादी र एमालेका कार्यकर्ताहरुले गाई चिन्हमा अमूल्य मत दिन क्षेत्र नं ३ का मतदाताहरुसँग आग्रह गरिरहेका छन् । केन्द्रमा राप्रपाले कांगे्रससँग चुनावी तालमेल गरेपनि झापामा काँग्रेसकै उम्मेदवार विरुद्ध कम्युनिष्ट गठबन्धनको सहयोगमा चुनावी प्रतिस्पर्धामा छन् लिङ्देन । 

२०६३ साल चैत्र १ गते माओवादी कार्यकर्ताहरुले लिङदेन लगायत ९ जनालाई होटल हेभनमा कालोमोसो दलेर कुटपिट समेत गरेका थिए । माओवादीका जिल्ला तहका नेताहरु राजु आचार्य अग्नि, डिल्ली घिमिरे हिक्मत लगायतको नेतृत्वमा गएको सयौं कार्यकर्ताहरुले कालोमोसो दल्ने, लछारपछार गर्ने र कुटपिट गर्ने काम गरेका थिए । अहिलेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार लिङदेन, राप्रपा नेपालका संस्थापक अध्यक्ष रविन्द्र शर्मा, उनकी श्रीमती, स्वकीय सचिव गोकर्ण घिमिरे, पूर्व केन्द्रीय सदस्य टेकनारायण राजबंशी, पूर्व जिल्ला अध्यक्ष रोहित राजबंशी, सगुन लावती, कल्याण खड्का र भूपेन्द्र लिङदेन त्यस दुब्र्यबहारको शिकार भएका थिए ।

माओवादी कार्यकर्ताहरुको सामुहिक कुटाईबाट केही गम्भीर घाईते समेत भएका थिए । त्यसबेला राप्रपाका सचिव रहेका बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेल त्यहाँबाट बाँचेर भागेका थिए । २०६२÷०६३ को जनआन्दोलनबाट लोकतन्त्र बहाली पश्चात राप्रपाका नेता कार्यकर्ताहरुमाथि सो हमला भएको थियो । 

शाही सत्ताको अन्त्य भएपछि राजावादीहरुले राजनीतिक संगठनको रुपमा राप्रपा नेपाल गठन गरेका थिए । पार्टी संगठन बिस्तारको क्रममा पाँचथर जानकालागि संस्थापक अध्यक्ष शर्मासहितका नेता कार्यकर्ताहरु होटल हेभनमा भेला भएका बेला सो हमला भएको थियो । भूमिगतकालमा लिङदेनको गोलधापस्थित घरमा बम बिस्फोट गराएका माओवादी कार्यकर्ताहरुले सशस्त्र युद्ध अन्त्य भएपछिको खुल्ला समयमा पनि उनलाई दुख दिन छाडेका थिएनन् । 

शाहीकालमा जिविस झापाको सभापति भएका लिङदेनलाई माओवादीहरुले आफूहरुको बिरुद्ध गतिबिधि नगर्न पटकपटक चेतावनी दिँदै आएका थिए । क्षेत्र नं ३ मा लिङदेनसँगै प्रदेशसभाको निर्वाचनमा उठेका माओवादी उम्मेदवार पूर्णसिंह राजबंशीले हेभन घटनालाई गलत बताएका छन् । उनले आवेशमा आएर आफूहरुले सो आक्रमण गरेको स्वीकारेका छन् । हेभन घटनाको शिकार बनेका राप्रपाका पूर्व केन्द्रीय सदस्य टेकनारायण राजबंशी त्यो पीडादायी चोट संझिदै भन्छन्– हेभन घटनाको बारेमा जनताले बुझ्नु पर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ