arrow

एमाओवादीले मन्त्री बनायो; एमालेमा अझै किचलो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1450687151.jpeg
काठमाडौँ। एकीकृत नेकपा (माओवादी)का तर्फबाट विभिन्न मन्त्रालय सम्हाल्नुभएका मन्त्रीहरुले आज आ–आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ। 
मन्त्री अग्निप्रसाद सापकोटाले वन तथा भूसंरक्षण मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । उहाँले कर्मचारीलाई निष्पक्ष भएर जनताको सेवामा लाग्न निर्देशन दिनुभयो । वन मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले मन्त्रालयको काम कारबाहीका बारेमा सङ्क्षिप्त जानकारी गराउनुभएको थियो। 
 
यस्तै सिँचाइमन्त्री उमेश यादवले पनि आजै पदभार ग्रहण गर्नुभएको छ । सिँचाइ सचिव अनुपकुमार उपाध्यायले मन्त्री यादवको स्वागत गर्नुभएको थियो । 
 
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले पनि आज पदभार ग्रहण गर्नुभएको छ । उहाँले मुलुकमा जारी आपूर्ति सङ्कटलाई समाधान गर्न आफू सबैसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । नेपाल र नेपाली जनताको चाहनालाई केन्द्रबिन्दुमा राखेर काम गर्न उहाँले मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्रालयका सचिव भारत भ्रमणमा रहनु भएकाले उच्च अधिकारीले उहाँको स्वागत गर्नुभएको थियो । 
 
यस्तै, सामान्य प्रशासन मन्त्रालय पुगेर सामान्य प्रशासनमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्नुभयो । सचिव टङ्कमणि शर्माले मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराउनुभएको थियो । 
 
यसअघी राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटा, वाणिज्य तथा आपूर्ति गणेशमान पुन, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र सिँचाइ मन्त्री उमेश यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। यस्तै, बिना विभागीय मन्त्री रामजनम चौधरी र विश्वेन्द्र पासवानले पनि आजै पद तथा गोपनीयताको शपथ लिनुभयो । 
 
गत असोज २४ गते वर्तमान सरकार गठन भएयता सरकार विस्तार भएको यो दोस्रो पटक हो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा लिइसक्नु भएको छ । 
 
एमाले अध्यक्ष ओलीले नेतृत्व गर्नुभएको वर्तमान सरकारमा एमाओवादीका आठ, एमालेका तीन, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का दुई, राप्रपा नेपालका दुई, बहुजनशक्ति पार्टीको एक र राज्य मन्त्रीमा मेघराज नेपाली निषादले समेत प्रतिनिधित्व गर्नुभएको छ । 
 
एमालेमा विवाद कायमै
सरकारमा पार्टीका तर्फबाट पठाउने व्यक्तिका बारेमा टुङगोमा पुग्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन। एमालेका अध्यक्ष एवं प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपालबीच पार्टीका तर्फबाट सरकारमा पठाउने व्यक्तिका बारेमा टुङगो लगाउन नसक्दा समस्या भएको हो। बिशेषगरि एमाले नेताहरुले अर्थ मन्त्रीमा कस्लाई पठाउने भन्नेमा एकमत बनाउन नसक्दा समस्या भएको हो। एमालेका उपाध्यक्ष भीम रावल उपमहासचिव बिष्णु पौडेल र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेबीच अर्थ मन्त्रालय सम्हाल्ने बिषयमा हानाथाप हुँदा सरकार विस्तारमा समस्या भएको हो। 
 
यसैबीच नेकपा (एमाले)ले पार्टीका सांसद राज्यलक्ष्मी गोल्छालाई स्पष्टीकरण सोध्ने भएको छ । समानुपातिकबाट संविधानसभा सदस्य हुनुभएका गोल्छाले पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा चयन हुने दिनको व्यवस्थापिका–संसद्को बैठकमा अनुपस्थित रहेकाले कारबाही गर्न लागिएको बताइएको छ । 
 
आजको स्थायी कमिटीको बैठकमा गोल्छालाई स्पष्टीकरण सोधी चित्त नबुझेमा सांसदबाट राजीनामा दिन निर्देश गर्ने निर्णय भएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । गोल्छालाई सभासद् बनाएकामा पार्टीभित्र त्यसबेला पनि टिप्पणी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ