arrow

कैलाली र सुदूरपश्चिमकी आशा एवम् भरोशाकी केन्द्र बनेकी छिन् आरजु राणा देउवा

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
Dr_Aarzoo_1.jpg

धनगढी । मनोविज्ञानमा पिएचडी गरेकी डाक्टर आरजु राणा देउवा अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसको उम्मेदवार हुन् । 

उनले यो क्षेत्रबाट उम्मेदवारी पाउने चर्चा चलेयता अहिलेसम्म यो क्षेत्र देशभरी नै चासोको विषय बनेको छ ।
 
२५ वर्षअघि वर्तमान कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासंग बिहे गरेकी डा आरजूलाई अहिले चुनावी प्रचार अभियानका क्रममा कैलाली र सुदूर पश्चिमेलीहरुले नजिकबाट नियाल्न पाए । 

पढे लेखेर पनि झुक्न जान्ने, सबैका समस्यामा सहानुभूति दर्शाउने र समस्याको समाधान खोजिदिने उहाँको संस्कारको सबैले तारिफ गरेका छन् ।

चुनावी अभियानकै क्रममा नेपाल सरकारबाट बोलेका कुरा निर्णय गराउने सफलता पाएकी डा आरजुको क्षमतालाई कैलालीबासीले राम्रोसंग चिन्ने मौका पनि पाए ।
 
बर्षौदेखिका समस्याहरुको दीघकालिन समाधानका योजना प्रस्तुत गर्न भ्याउनुभएकी डा राणाको व्यवहारबाट सबै प्रशन्न देखिन्छन् ।

सुदूर पश्चिमले यस्तो महिला नेतृ पाएको छ जोसंग सामाजिक सेवा र विकासका क्षेत्रमा काम गर्ने ज्ञान, सीप र अनुभव छ । उनको आगमनबाट सुदूरपश्चिमले दुःखका दिन हट्ने कल्पना गरेको छ ।
 
म कहिल्यै पनि हावादारी कुरा गर्दिन, जे काम गर्न सक्छु, त्यो मात्रै बोल्ने गर्छु’  भन्ने डाक्टर आरजु राणा देउवाको स्पष्ट र सरल रुपमा धाराप्रवाह भाषण सुन्न हरेक सभामा भीड लाग्ने गरेको छ । प्रायः सभामा युवादेखि बृद्ध उमेरका महिलाको बाक्लो भीड लाग्ने गरेको छ ।
 
उनको बोलीमा अभुतपूर्व दृढता र विश्वास झल्किन्छ । नेपाली काँग्रेसका राजनीतिक र आर्थिक एजेण्डाहरुको व्याख्यामा होस् कि निर्वाचन क्षेत्र, जिल्ला र समग्र सुदूरपश्चिमको आर्थिक समृद्धिका बारेमा उनी प्रष्ट छिन् । 
 
लामो समयदेखि संघसंस्थामार्फत स्वास्थ्य, मातृशिशु स्वास्थ्य, विकास, महिला अधिकारका क्षेत्रमा क्रियाशील छिन् । 
 
सुदूरपश्चिमको विकासको संकल्प बोकेर चुनावमा होमिन आएकी डा आरजुमाथि उनको मतदातासंग घुलमिल गर्ने र समस्याको समाधान गर्ने कला देखेर आत्तिएका प्रतिद्वन्द्वीहरुले ‘टुरिष्ट उम्मेदवार’ को उपमा दिएर अपमानित गर्न खोजे । 

उक्त शब्दको जवाफमा डाक्टर आरजुले भनिन्, ‘मैले बिहे गरेर सुदूरपश्चिम आएको २५ वर्ष भयो । हाम्रो समाजमा महिलाले जहाँ विहे गरेर गयो, त्यही घर मानिन्छ । मलाई टुरिस्ट भन्नेहरू हो, तपाईका घरमा पनि बाहिरबाट विहे गरेर आमा, बुहारी आउनु भएका होला, त्यसैले आफ्ना घरका आमाबुहारीलाई टुरिष्ट नभन्नुहोला ।’

उनले धेरै पटक दोहोर्याइन्, ‘म सुदूरपश्चिमकी बुहारी, आफ्नो घर नआएर कहाँ जाने । मलाई टुरिष्ट भन्नेहरूलाई लाग्दो होला, यो पढेलेखेकी छ, जान्नेबुझ्ने छ, यसलाई यस्तो भन्दा आनन्द आउँछ होला, तर हेर्नोस् मलाई पनि दुख्छ । महिनावारी हुँदा सबै महिलालाई समान पीडा हुन्छ । बच्चा जन्माउँदा सबै आमालाई हुने पीडा एउटै हो ।’
 
निर्वाचन अवधिभरका चुनावी सभामा उनले कैलाली लगायत सुदूरपश्चिमको समग्र विकासका योजनाबारे चर्चा गरिन् । सुदूरपश्चिमको विकासका लागि काँग्रेसले गरेका कामको फेरिहस्त प्रस्तुत गरिन् ।
 
हाल सञ्चालनमा रहेका महाकाली नदीको पुल निर्माण, अत्तरिया–मोहना ६ लेन सडक, गौरिफन्टा सिमानाकाको स्तरोन्नति, सेती अञ्चल अस्पताललाई तीन सय सैयाको अस्पतालमा रुपान्तरण, दोधाराचा“दनीमा सुख्खा बन्दरगाह, गेटा मेडिकल कलेज, रानी जमरा कुलरिया बहुउद्देश्यीय सिचाईं आयोजना, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना, खुटिया–दिपायल द्रुत मार्ग योजनाबारे चर्चा गरिन् ।
 
‘सुदूरपश्चिमको विकासका लागि जेजति पनि भएको छ, सबै काँग्रेसका कारण नै भएको हो’ उनले पटकपटक एमाले र माओवादीलाई प्रश्न गरिसकिन्, ’तपाईंहरूले सुदूरपश्चिमको विकासका लागि गरेको एउटा पनि काम देखाउनुहोस् ।’ 

अझ कतिपय सभामा त उनले चुनौति नै दिइन्, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि एमाले वा माओवादीले एउटा इट्टा थपेको छ भने देखाउनु होस् ।’
 
बिहान पुजापाठ उनको दैनिकचर्याको एउटा अंग हो । हरेक दिन बिहानदेखि अबेर रातीसम्म चुनावी कार्यक्रममा सहभागी भइरहँदा उनको अनुहारमा कत्ति पनि थकान देखिन्न । 

बरु उनी महिलालाई कुनै पनि कोणबाट कमजोर नठान्न बारम्बार चुनौति दिन्छिन् । भन्छिन्– ‘मेरै कुरा गर्नुहुन्छ भने म भारतमा विश्वविद्यालयमा अध्ययन गर्दा सबैभन्दा उत्कृष्ट अंकका साथ उत्तीर्ण भए, म पुरुषभन्दा दश गुणा बढी राम्रो काम गर्न सक्छु ।’
 
महिलाको विशेषता र क्षमताबारे उनी बडो सरल ढंगले ब्याख्या र प्रस्तुत गर्नुहुन्छ । ‘हामी महिला कुनै पनि काम अधुरो छोड्दैनौं, बच्चालाई नुहाउदा होस् बीचैमा छाड्दैनौं, खाना पकाउँदा काँचो राख्दैनौं’ उनको बोलीमा दृढता झल्किन्छ, ‘महिलालाई अवसर दिनुहोस्, हामी इमान्दारिपूर्वक आफूले बोलेको कुरा पुरा गर्छौ ।’

डाक्टर आरजुका कुनै पनि अभिव्यक्तिमा अरुप्रति व्यक्तिगत आलोचना भेटिन्न ।
 
सरल भाषण उनको विशेषता झैं बनेको छ । मुलुकको पेचिलो राजनीतिको चिरफार गर्ने क्रममा पनि उनी उदाहरणसहित लोकतान्त्रिक पद्धति र कम्युनिष्ट व्यवस्थाबीचको तुलना गर्छिन् । 

कुनै वेला एउटै मुलुक रहेको कोरिया झण्डै ५० वर्षअघि दक्षिण कोरिया र उत्तर कोरियाका रूपमा विभाजन भएपछि अहिले ती दुई देशबीचको आर्थिक अवस्थाको बारेमा चर्चा गरेर लोकतन्त्र र कम्युनिष्ट व्यवस्थाको परिणामका बारेमा चर्चा गर्छिन् ।
 
आफ्नो भाषणमा बढिजसो आर्थिक, सामाजिक विकासका खाका प्रस्तुत गर्न रुचाउने उनी कहिलेकाहीँ नितान्त व्यक्तिगत अनुभूति प्रस्तुत गर्न हौसिन्छिन् ।

 ‘हाम्रा मन्त्रीले ब्या (विहे) गर्याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्’ एउटा कार्यक्रममा उनी आफूले २५ वर्षअघि कांग्रेस नेता शेरबहादुर देउवासंग बिहे गरेपछि पहिलो पटक घर (डडेल्धुरा) पुगेको अनुभूति सुनाइन् । 

त्यतिवेला आफूसंग टाढाबाट लौरो टेकेर भेट्न आएका बृद्ध महिलाहरूले व्यक्त गरेको उद्गार स्मरण गर्दै उनले भनिन्, ‘उहाँहरूको कुरा सुनेर मैले अनुभूत गरे, ओ हो– कति निश्छल, कति निष्कपट र कति सरल सुदूरपश्चिमेलीहरू ।’
 
त्यतिवेलाको उनको अनुभूति छ, ‘उनीहरूले मन्त्रीको श्रीमति हेर्न तथा पढेलेखेका महिला हेर्नका लागि आएको भनिन्, मलाई कस्तोकस्तो लाग्यो । सुदूरपश्चिमबासी कति सरल, निश्छल हुँदा रहेछन् भन्ने लाग्यो ।’ तर, संगसंगै सोचे, ‘ओ हो म त चार सय वर्ष अगाडीको समाजमा आइपुगेछु । केही ठाउ“मा बल्ल बाटो र विजुली पुगेको रहेछ,। बाटोघाटाृे छैन । रोजगारीका अवसर छैनन् । साक्षरताका दर दयनीय छ । उपचार नपाएर विरामी छट्पटाउनु पर्ने अवस्था छ । जताततै गरिबी छ ।’
 
त्यो सबै देखेर उनले त्यतिवेला सुदूरपश्चिमका लागि केही गर्नुपर्छ भन्ने अठोट लिइन् र, रुडुक संस्थामार्फत सुदूरपश्चिमका विभिन्न जिल्लामा मातृशिशु स्वास्थ्य लगायतका कामलाई अगाडी बढाउन थालिन् ।
 
डाक्टर आरजुले पटकपटक महिलाको सशक्तिकरणको चर्चा गरिन् । बालबालिकाका बारेमा कुरा गरेकी छिन् । 

धनगढी फूलबारीमा अधिकांश थारु महिला सहभागी एउटा कार्यक्रममा उनले भनिन्, ‘२० वर्षअघि म यहाँ आउँदा प्रायः रोगी जस्ता, च्यात्तिएका, मैला लुगा लगाएको महिला देख्थे, अहिले आउँदा प्रायः सबै कोरिबाटी सफा लुगा लगाएर राम्री भएर आउनु भएको छ, निकै खुसी लाग्छ ।’
 
मतदानको मिति नजिकिदै छ । संगसंगै उम्मेदवारहरूले आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न हरसम्भव प्रयास पनि भइरहेका छन् । उम्मेदवारहरूले एकअर्कालाई आक्षेप लगाउने क्रम पनि बढेको छ । अरुलाई गलत सावित गरेर आफू चोखो बन्ने प्रयास पनि बनिरहेका छन् । 

आरोप प्रत्यारोपबाट सकेसम्म टाढै बस्न रुचाउने र आफ्नो पार्टी नेपाली काँग्रेसले गरेका राम्रा कामको मात्रै प्रायः चर्चा गर्न रुचाउने डाक्टर आरजुले आफूविरुद्ध कसैले पर्चा छरेको प्रति पनि शान्तपूर्वक प्रतिक्रिया दिइन्, ‘मेरा विरुद्ध कहिले टुरिष्ट भने, कहिले के भने, केही सीप नलागेपछि अहिले बेनामी पर्चा छरेका छन् ।’
 
उनले आफ्ना विरोधीहरूलाई सल्लाह दिइन्, ‘यत्रो मिहिनेत गरेर पर्चा बनाउनु भयो । न भाषा मिलेको छ, न शैली । बरु मलाई भनेको भए मैले नै मेराबारे के लेख्नु पर्छ भनेर राम्ररी ड्राफ्ट गरिदिन्थे । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ