नवौँ मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २३ गतेदेखि
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
258
Shares
काठमाडौँ । १९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यही मंसिर २३ देखि २५ गतेसम्म नवौँ मानव अधिकार राष्ट्रिय महाभेला आयोजना गरिने भएको छ ।
डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेला ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता : सधैँका लागि’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘समृद्धि र विकासको आधार : युवा र महिलालाई समान अवसर’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।
महाभेला संयोजक लिली थापाले मंगलबार आयोजित पत्रकारसम्मेलनमा मुलुकमा मानव अधिकारको अवस्था कस्तो छ, नयाँ संरचनाअनुसार आगामी दिनमा त्यसलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सहभागी संघ संस्थाका प्रतिनिधिबीच छलफल हुने बताइन् ।
उनले संविधानमा सबैका अधिकारलाई सुनिश्चित गरिए पनि युवा तथा महिलाको अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा केही नियम नबनेको र केही राजनीतिक दलले लागू नगरेको जस्ता समस्या देखिएकाले सबै तहबाट सहयोगको अपेक्षा गरिन् ।
आठौँ मानव अधिकार राष्ट्रिय महाभेलाका संयोजक एवं अधिकारकर्मी सुनी लामाले मुलुकमा परिवर्तन भएको राजनीतिक प्रणालीले समयसापेक्ष मानव अधिकारका क्षेत्रलाई सबै नागरिकको पहुँचमा पुर्याउन खोजे पनि केही प्राविधिक कारणले संविधानका यी प्रावधान प्रभावकारी कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरे।
राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले विगत आठ वर्षदेखि संयुक्त रुपमा आयोजनामा गर्दै आएको उक्त महाभेला यस वर्ष न्याय र लोकतन्तत्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा हुन लागेको हो ।