arrow

संघीयतामा चुनाव गर्ने तरिका सिक्न गएको आयोगले भारतमा के देख्यो ?

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
election_in_India.jpg

काठमाडौं । नेपालमा पनि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि चुनाव हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा चुनाव भईसकेको यो निर्वाचनको दोस्रो चरणमा हुने निर्वाचन यही मंसिर २१ गतेदेखि सुरु हुँदैछ । यो निर्वाचनको लागि सबै तयारी पूरा भएर अहिले मौन अवधि चलिरहेको छ । 

नेपालमा स्थानीय तह र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुने पक्कापक्की भएपछि निर्वाचन आयोगले विश्वका विभिन्न मुलुकहरुमा चुनाव गर्ने प्रक्रिया कस्तो छ र नेपालको भन्दा के कस्तो फरक छ भन्ने विषयमा अध्ययन गर्नको लागि केही प्रतिनिधिहरुलाई विभिन्न मुलुकमा पठाएको थियो । 

२०७३ साल जेठ २ गतेदेखि १० गतेसम्म निर्वाचनको प्रक्रियाको बारेमा बुझ्न भारतको तमिलनाडु पुगेका आयोगका प्रतिनिधिहरुले त्यहाँको निर्वाचनको सबै प्रक्रियाबारे अध्ययन र अवलोकन गरेर आएका थिए । भारत भ्रमणको क्रममा भ्रमण टोलीले सबैभन्दा पहिला तामिलनाडु विधानसभा निर्वाचनको लागि भएको निर्वाचनमा चेन्नेई डिस्ट्रिक्ट अन्तर्गतका विभिन्न मतदानकेन्द्रको अवलोकन गरेको थियो । चेन्नेईमा भ्रमणको व्यवस्थापन तामिलनाडुको तामिलनाडु स्टेट इलेक्सन कमिशनको कार्यालयले गरेको थियो ।

४ वटा डिभिजन अन्तर्गत जम्मा ३२ जिल्ला रहेको तामिलनाडु राज्यमा जिल्लाबाट कुल विधानसभामा २ सय ३४ सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सबै सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम बालिग मताधिकारको आधारमा गोप्य मतदानबाट ती प्रतिनिधिहरु निर्वाचित हुने व्यवस्था रहेको छ । 

मतदानका अन्य पक्षहरुलाई ध्यान दिने हो भने मतदान कार्य नेपालमा जस्तै विहान ७ः०० बजे प्रारम्भ हनेगरेको छ भने बेलुका ६ः०० बजेसम्म मतदान कार्य सञ्चालन हुने गरेको छ । एकै स्थानमा एकभन्दा बढी मतदान केन्द्र पनि रहने गरेको छ । भ्रमण दलले मतदानको दिन अन्ना नगर निर्वाचन क्षेत्रका विभिन्न ३ वटा स्थानका ७ वटा मतदान केन्द्रको अवलोकन गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार संघीयतामा निर्वाचनको व्यवस्थापनमा भारतले अपनाएको अभ्यासबारे जानकारी प्राप्त गर्ने, मतदान सञ्चालन कार्यको अवलोकन गरी मतदान कार्य व्यवस्थापनका असल अभ्यासहरुबारे जानकारी प्राप्त गर्ने र आयोगले सम्पन्न गर्नुपर्ने विभिन्न तहका निर्वाचनको लागि उपयोगी हुने प्रकारका विद्युतीय मतदान उपकरणको उपलव्धताबारे अध्ययन गर्ने उद्देश्य सहित आयोगको टोली भारत गएको थियो । 

उक्त टोलीले अवलोकनबाट जानकारी प्राप्त केहि प्रमुख विषय र सो देहाय बमोजिम छन्ः–
- मतदान केन्द्र सामान्यतः विद्यालयहरुमा नै कायम गरिएका थिए । नेपालमा पनि मतदान केन्द्रहरु विद्यालयमा नै कायम गरिएका हुन्छन् । 

- प्रत्येक मतदान केन्द्रमा मतदान गर्ने तरिका उल्लेख भएका र आफ्नो मत बिक्री नगर्न आम मतदातालाई आह्वान गरिएका ठूला ठूला पोस्टर टाँसिएका थिए । मतदान कक्ष कोठाको भित्र निर्माण गरिएको थियो । मतदान कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र मत संकेत गर्ने गोप्य कक्ष सबै कोठा भित्रै व्यवस्थापन गरिएको थियो । मतदान केन्द्रपरिसरमा मतदान केन्द्र निर्माण गर्न विद्यालयमा मतदान केन्द्र भएकोले पक्की शौचालयहरु प्रयोगमा थिए । मतदाताहरुका लागि खानेपानीको प्रवन्ध निर्वाचन आयोगले मिलाएको थियो । नेपालमा पनि विद्यालयमा संवेदनशीलता हेरेर विद्यालयको भवन भित्र र बाहिर जहाँ पनि मतदान केन्द्र राखिएको हुनसक्छ । 

- यस पटकको निर्वाचनमा विद्युतीय मतदान उपकरणका साथै भोटर्स भेरिफाईड अडिट ट्रायल उपकरण समेत प्रयोगमा ल्याइएको थियो । तर यो उपकरण सबै निर्वाचन
क्षेत्रमा भने प्रयोग गरिएको थिएन ।
 नेपालमा संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ मा विद्युतीय मेसिनको प्रयोग गरिएको भएपनि त्यसपछि विद्युतीय मेसिनको प्रयोग गरिएको छैन । 

- उक्त उपकरण मतदाताको मतलाई स्वचालित रुपमा कागजमा समेत अभिलेख जनाई सुरक्षित राख्न सकिने विशेषताभएको उपकरण हो । मतदाताले विद्युतीय मतदान उपकरणको मतदान एकाइको उम्मेदवार बटन थिची मतदान गरेपछि उक्त मत उपकरणको नियन्त्रण एकाइमा अभिलेख हुनुका साथै मतदान गरेको उम्मेदवारको क्रम संख्या, नाम र निर्वाचन चिन्ह उक्त उपकरणको स्क्रीनमा समेत देखा पर्छ । यो विवरण ७ सेकेण्डसम्म डिस्प्ले हुन्छ र स्वचालितरुपमा काटिएर उपकरणको चेम्बरमा खस्छ । विद्युतीय मतदान उपकरणबाट डिस्प्ले हुने नतिजाबारे कसैले उजुरी गरेमा अदालतको आदेशमामात्र उक्त पेपर स्लिप समेत गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

- यस पटकदेखि मतदाताले कुनै उम्मेदवारप्रति समर्थन नरहेको मत जाहेर गर्न सक्ने व्यवस्था गरी नो भोटको प्रयोग गरिएको छ । विद्युतीय मतदान उपकरण्को मतदान एकाईमा सबै उम्मेदवारहरुका लागि बटन निर्धारित गरिएपछि त्यस लगत्तैको नो भोटको बटम राखिएको थियो । नेपालमा पनि अब यसपछि हुने निर्वाचनमा नो भोटको व्यवस्था राख्नको लागि सर्वाेच्च अदालतले आदेश जारी गरिसकेको छ । 
 
- मतदान एकाईमा प्रयोग हुने मतपत्रमा उम्मेदवारको नाम राख्दा वर्णानुक्रम अनुसार राखिन्छ । तामिलनाडु राज्यमा तामिल वर्णानुक्रमको आधारमा राखिएको थियो । नेपालमा यस पटक संविधान सभामा दलको हैसियतको आधारमा चुनाव चिह्न राखिएको छ । 

- प्रत्येक मतदान स्थल (८९१ स्थलमा) मा कम्तीमा एउटा ह्वील चेयरको सुविधा उपलव्ध थियो । नेपालमा अहिलेसम्म पनि अपांगमैत्री मतदान केन्द्रको लागि गम्भीर बन्ने गरिएको छैन ।

- प्रत्येक निर्वाचन क्षेत्रमा चारवटा नमूना मतदान केन्द्रको व्यवस्था गरिएको थियो । नेपालमा आवश्यकता परेको ठानिएमा मात्रै यस्ता केन्द्रमा मतदातालाई मतदान केन्द्रमा जाउँ जाउँ लाग्ने गरी सामियान, तोरण, ध्वजा पताकाले सजिसजाउ गरिनुका साथै फराकिलो मतदान कक्ष, सोफा वा आरामदायी कुर्सी सहितको आराम कक्ष, खानेपानी, चिया, शौचालय आदिको पूर्वाधार उपलव्ध थियो । तर नेपालका मतदान केन्द्रहरु देख्दै उराठलाग्दा र एकैक्षण पनि मतदान केन्द्रमा बस्ने नसक्नेखालको देखिन्छ । ध्वजापताका टास्ने गरिएको छैन । 

- प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा मतदानमा महिला कर्मचारीहरुमात्र परिचालन गरिएको थियो । नेपालमा भने त्यस्तो व्यवस्था गरिएको छैन । 

- मतदान केन्द्रका गतिविधि खासगरी मतदाता, उपकरण राखिएको मतदान कक्ष, कर्मचारी र राजनीतिक दलका प्रतिनिधिका क्रियाकलापलाई चिफ इलेक्टोरल
अफिसरको कार्यालयमा रहेको कण्ट्रोल रुमबाट निगरानी गरिएको थियो ।

- मतगणनाका लागि जिल्लाभरमा ३ वटा गणना केन्द्र रहेका थिए ।  नेपालमा पनि प्रत्येक निर्वाचन क्षेत्रको आ आफ्नै मतदान केन्द्रहरु रहेका थिए । 

- कर्मचारी खटाउँदा र्याण्डम सेलेक्सन मेथड अपनाइन्छ । सबैभन्दा पहिला जिल्लामा खटाइन्छ । जिल्लाले यही विधि अपनाई निर्वाचन क्षेत्रमा खटाउँछ र
अन्तमा निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा खटाउँछ ।

- एउटा मतदान केन्द्रमा ३ जना मतदान कर्मचारी खटिन्छन्। एकजनाले नाम रुजु गर्ने, दोस्रोले औँला (देब्रे हातको चोरी औंला) मा मसी लगाउने र मतदाता
रजिस्टरमा अभिलेख जनाई मतदान स्लिप दिने र एक जनाले नियन्त्रण एकाई सञ्चालन गर्ने गर्छन् । प्रत्येक मतदान स्थलमा उक्त स्थलमा रहेका सबै मतदान
केन्द्रको रेखदेख र व्यवस्थापनका लागि एकजना मतदान अधिकृत रहन्छन् । नेपालमा पनि कर्मचारीको व्यवस्थापन त्यहाँको जस्तै गरी गरिन्छ । 

- मतदान केन्द्रमा अर्कालाई सेवा पुर्याउने भावना भएका जो सुकै र जतिसुकै व्यक्ति स्वयम् सेवकको रुपमा संलग्न हुन पाउँछन् । स्वयम् सेवकले मुख्यतः
अशक्त मतदातालाई ह्वील चेयरमा राखी मतदान कक्षसम्म ल्याउने र मतदानपछि बाहिरसम्म पुर्याइदिने, मतदाताको लाइन व्यवस्थित गर्ने, स–साना गुनासा
सम्बोधन गर्ने, भिडभाड हुन नदिने, लाइनमा बसेका मतदातालाई खानेपानीको सेवा दिने, वृद्ध वृद्धालाई सहयोग गर्ने कार्य गर्छन्। यी स्वयम्सेवकलाई निर्वाचन
आयोगलेकुनै पारिश्रमिक भुक्तानि दिदैन । नेपालमा राजनीतिक दलले प्रतिनिधि भनेर तोकेका व्यक्तिले मात्रै त्यस्तो काम गर्न पाउँछन् । 

- मतदान केन्द्र मतदातालाई सरदर २ कि.मि. भन्दा बढी हिडनु नपर्ने दुरीमा थिए । मतदान केन्द्रमा महिला पुरुष मतदाताका लागि एउटै लाइन थियो । बरु कतै कतै
महिलाका लागिमात्र अलग्गै मतदान केन्द्र राखिएको जानकारी गराइएको थियो । नेपालमा पनि लाईन ठाउँ अनुसार हुन्छ । तर, नेपालमा मतदान केन्द्र भने धेरै टाढाटाढा राखिन्छ । 

- मतदानका लागि निर्वाचन आयोगले उपलव्ध गराउने मतदाता स्लिप लगायत विभिन्न ११ थरी कागजातलाई परिचयपत्रको रुपमा स्वीकारिने व्यवस्था छ । मतदाताको फोटो सहितको स्लिप मतदान हुने दिनभन्दा ७ दिन अगाडिसम्ममा उपलव्ध गराइन्छ । यो नेपालमा चुनावको अघिल्लो दिनसम्म दिईन्छ र यो स्लिप र परिचय पत्र नभएपनि फोटो समेटिएको सरकारी कागजपत्र देखाएर मत दिन पाईन्छ । 

- एउटा मतदान केन्द्रमा ३÷४ जना मतदाताहरु मतदाता नामावलीमा आफ्नो नाम नाम नरहेको गुनासो राखिरहेका थिए ।

- आयोगका प्रतिनिधिहरुले उम्मेदवारबाट मतदातालाई पैसा दिई प्रभावित पार्न गरिने क्रियाकलाप तामिलनाडु राज्यमा स्वच्छ स्वतन्त्र निर्वाचनमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको देखे । यहि कारण हुनसक्छ मतदान केन्द्रमा आफ्नो मत नबेच्न अनुरोध गरिएका प्रचार सामग्री व्यापक रुपमा टाँसिएका थिए । साथै मतदान हुने दिनभन्दा एक साता अगावै मतदादातालाई लोकतन्त्रप्रति आस्थावान रही पूर्ण नैतिक रुपमा कसैको डर, धाक र प्रलोभनमा नपरी स्वच्छ, स्वतन्त्र निर्वाचनमा कुनै लेनदेन नगरी (रकम नलिई) मतदान गर्न शपथ गराइन्छ ।

- मतदानका दिन सार्वजनिक बिदा दिइएको थियो । सबै खालका सवारी साधन नियमित रुपमा सञ्चालनमा थिए । नेपालमा निर्वाचनको दिन कुनैपनि सवारी साधन चल्न दिईँदैन । तर सार्वजनिक विदा दिईनछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ