सभापति देउवा बसेको होटल र नेता लेखकको घरमा वम आक्रमण
वम आक्रमण गर्नेलाई खोजी गरि कार्वाही गर्न काँग्रेसको माग
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
324
Shares
काठमाडौं। नेपाली काँग्रेसले आफ्ना नेता कार्यकर्तामाथि श्रृङखलावद्ध वम आक्रमण गर्नेहरुको पहिचान गरि तिनलाई कार्वाहीको माग गरेको छ।
काँग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ती निकाल्दै नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी बम आक्रमण र विस्फोटका घटना गराइएको उल्लेख छ।
पार्टीले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ
मंसिर १९, २०७४
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति, सम्माननीय प्रधानमन्त्री एवं डडेल्धुरा जिल्ला प्रतिनिधि सभाका उम्मेदवार शेरबहादुर देउवाज्यू बस्नु भएको होटल नजिक हिजो १८ गते विहान कैलालीको धनगढीमा बम फेला परेको छ ।
यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं कंचनपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. ३ का उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घरको कम्पाउण्डमा गएराति बम विस्फोट भएको छ ।
नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी बम आक्रमण र विस्फोटका घटना गराइएका छन् ।
निर्वाचन जस्तो लोकतान्त्रिक अभ्यासमा आतंक र भयको स्थिति सिर्जना गरेर जनमतलाई आफ्नो पक्षमा पार्ने दुस्प्रयास अधिनायकवादी चरित्र हो ।
लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेकाहरुको सुनियोजित षडयन्त्रबाट कति पनि विचलित नहुन नेपाली कांग्रेस आम मतदातामा हार्दिक अपील गर्दछ ।
यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।
साथै, शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनमा सहभागी हुन पाउने नागरिकको नैसर्गिक अधिकार माथि अवरोध खडा गर्ने र लोकतान्त्रिक संस्कार तथा संस्कृतिको उपहास गर्ने यस प्रकारका आपराधिक घटनाको नेपाली कांग्रेस कडा मुकाविला गर्न तयार छ ।
यस्ता अपराधिक घटना नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन तथा यस्ता घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडाभन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।