समाचार संकलन गर्न गएका पत्रकार कार्की र अधिकारी माथि दूर्व्यवहार
प्रकाशित २०७४ मंसिर २३ शनिबार
418
Shares
रौतहट । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि नेपाल प्रहरीका अधिकारीहरुले दूव्र्यवहार गरेका छन् । रौतहतको गौरमा जारी मतगणनाको रिपोर्टिङ गर्न गएका रेडियो नेपाल र इमेज च्यानलका पत्रकार सञ्जय कार्की र स्थानीय सञ्चारमाध्ययममा कार्यरत पत्रकार रत्न अधिकारीमाथि प्रहरीले दूव्यवहार गरेको हो।
मतगणना स्थलनजिकै रहेका उनीहरुलाई प्रहरीले हटाउन खोजेपछि समाचार संकलन गर्न तोकिएको ठाउँमा बस्न पाउनुपर्ने माग गर्दा उनीहरुमाथि दूव्र्यवहार भएको हो । प्रहरीको दूर्व्यवहारपछि आफूसँग रहेको औठी र १५ हजार रुपैयाँ नगद पनि बेपत्ता भएको पत्रकार कार्कीले गुनासो गरेका छन् । उनीहरुलाई पत्रकारले लछारपटार समेत गरेका थिए ।
पत्रकार कार्कीले आफूहरुलाई प्रहरी नायव उपरिक्षक उदयजंग राणाले दुर्व्यवहार गरि रकम समेत लुटेको बताएका छन्।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका कार्कीमाथि भएको दूर्व्यवहारको नेपाल प्रेस युनियनले विरोध जनाएको छ । युनियनले पत्रकारहरुलाई तोकिएको ठाउँमा बसेर समाचार संकलन गर्ने अधिकार खोसिएकोमा आपत्ति जनाउँदै युनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकारहरुको बेपत्ता पारिएको नगद तथा जिन्सी पनि उपलब्ध गराईदिन माग गर्दै भयरहित वातावरणमा समाचार संकलनको वातावरण मिलाइदन सम्वन्धित सबैमा आग्रह गरेका छन्।