arrow

काँग्रेस अन्तर्घातको शिकारमाः कार्वाहीको सूचीमा चर्चित अनुहारहरु 

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । कम्युनिष्ट गठबन्धन बनेपछि नेपाली कांग्रेस एक हुन्छ भनिए पनि झन् अन्तर्घातको शिकार भएको छ । अहिले विभिन्न विभिन्न जिल्लामा उम्मेदवारी दिएर पराजित भएकाहरुले अन्तर्घातीहरुलाई कारबाहीको माग गर्न थालेका छन् । 

पराजय हुनुको कारण अन्तर्घात भएको ठहर गर्दै ललितपुर कांग्रेसका सभापति तथा क्षेत्र नम्बर ३ का उम्मेदवार मदनकुमार अमात्यदेखि संखुवासभाका दीपक खड्काले विभिन्न नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्न माग गरेका छन् । 

ओखलढुंगा कांग्रेसले यसअघि नै अन्तर्घातको आरोपमा केही नेता, विद्रोही उम्मेदवारसंगै उनीहरुका समर्थक र प्रस्तावकलाई पार्टीबाट निस्कासन गरिसकेको छ । 

ललितपुरका त पाका नेतासमेत यो आरोपमा परेका छन् । बयोबृद्ध नेता ओमकारप्रसाद श्रेष्ठमाथि मदन अमात्यमाथि अन्तर्घात गरेको आरोप लागेको छ । 

ओमकार श्रेष्ठ स्वीट्जरल्याण्डबाट आएर पार्टीलाई जिताउने भन्दा पनि हराउन सक्रिय भएको भन्दै उनीमाथि पनि कारबाहीको माग गरिएको छ ।

कांग्रेसका नेताहरु जितेन्द्रकुमार श्रेष्ठ, भरतलाल न्याछ्यो, रामकृष्ण चित्रकार र कबेलबहादुर लामा, जिल्ला सदस्य मिगेन्द्र शर्मा र महाधिवेशन प्रतिनिधि विकास रोक्का लगायतले खुलेरै बाम गठबन्धनलाई सहयोग गरेका कारण पनि कांग्रेस झिनो मतान्तरले पराजित हुन पुगेको भन्दै कारबाहीको माग गरिएको छ ।

ललितपुर क्षेत्र नं १ का प्रदेश सभामा उम्मेदवार सिफारिसमा परेका कबेलबहादुर लामाले सिधै एमालेलाई सहयोग गर्दै हिँडेको कांग्रेस कार्यकर्ताहरुको आरोप छ । 

लामाले कम्युनिष्ट गठबन्धनका नेताहरुसँग २५ लाख रुपैयाँ खाएर काँग्रेसलाई हराएको आरोप लागेको छ । 

लामाले कम्युनिष्ट गठबन्धनसँग घुस खाएर ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार उदयशमशेर राणा र प्रदेश सभा सदस्यका उम्मेदवार मीनकृष्ण महर्जनलाई पराजित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको आरोप लगाइएको छ  । 

पैसामा बिकेर आफ्नो पार्टीलाई हराउन लाग्ने यस्ता नेतालाई पार्टीबाटै निष्कासन गर्न ललितपुर कांग्रेस लागेको छ ।

ललितपुर क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिसमा परेका रामकृष्ण चित्रकारले पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्र महर्जन र प्रदेश सभा सदस्यका उम्मेदवार प्रेमकृष्ण महर्जनलाई हराउन आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरुलाई बाम गठबन्धनलाई सहयोग गरेको आरोप पार्टीभित्रैबाट लगाइएको छ ।

त्यसैगरी ललितपुर क्षेत्र नं ३ मा पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवार मदनबहादुर अमात्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरु नवराज महत र शिवराम बानियाँलाई जसरी पनि हराउन प्रदेश सभा सदस्य उम्मेदवारमा सिफारिसमा परेका नेपाली कांंग्रेसका नेता जितेन्द्रकुमार श्रेष्ठ, व्यक्तिगत रिसइवी साँध्ने उद्देश्यका साथ स्वीजरल्याण्डबाट आएका ओमकारप्रसाद श्रेष्ठ, भरतलाल न्याछ्यो, निर्वाचित जिल्ला सदस्य मिगेन्द्र शर्मा, महाधिवेशन प्रतिनिधि विकास रोक्कालगायतका नेताहरुले बाम गठबन्धनका नेताहरुको घरमै गई बाम गठबन्धनलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफ्ना नजिकका नेता तथा कार्यकर्ताहरुलाई बाम गठबन्धनका उम्मेदवारहरु पम्फा भुषाल, राजकाजी महर्जनलाई भेटेर र सम्भव नभएका आफ्ना नजिकका नेताहरुलाई फोनबाटै भोट हाल्न लगाएर आफ्नो घरमा आफैंले आगो लगाउने काम गरेको मदन अमात्यको आरोप छ । 

जितेन्द्रकुमार श्रेष्ठलाई त मंसिर १८ गते कांग्रेस कार्यकर्ताहरुले अन्तर्घाती भन्दै कुटपिट नै गरेका थिए ।

अन्य जिल्लाहरुमा पनि अन्तर्घातीलाई निस्कासन गर्ने प्रक्रिया अगाडि बढेको छ । 



लोकप्रिय समाचार
नयाँ