जस्तोसुकै विकल्पमा छलफल गर्न तयार रहेको प्रचण्डको भनाई
प्रकाशित २०७४ पुष १ शनिबार
298
Shares
काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरवहादुर देउवाबीच भेटघाट भएको छ । शनिबार भएको भेटमा प्रचण्डले नेकपा एमालेसँगको सहकार्यसँगै नेपाली काँग्रेसलाई समेत लिएर अघि बढ्ने विषयमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलको क्रममा काँग्रेसलाईपनिसँगै लिएर आफूहरु अघि बढ्न लागेको भन्दै काँग्रेसले पनि यसमा सहयोग गर्न प्रधानमन्त्रीसँग प्रचण्डले आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
प्रधानमन्त्री देउवाले वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यनिर्वाचनमा प्राप्त गरेको सफलताका लागि अध्यक्ष प्रचण्डलाई बधाई दिएका थिए । भेटमा अध्यक्ष प्रचण्डले तीन प्रमुख दलको सहमतिमा मात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । उनले काँग्रेससँगको सहकार्य पनि अबको राजनीतिक निकासका लागि आवश्यक रहेको भन्दै काँग्रेसलाईसँगै लैजानको लागि जस्तोसुकै विकल्पमा पनि छलफल गर्न आफू तयार रहेको प्रतिक्रिया दिए ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा संवैधानिक, राजनीतिक र प्रदेशका गभर्नर लगायतका नियुक्ति नगर्न ध्यानाकर्षण गराएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रमुख दलकाबीच छलफलका माध्यमबाट निष्कर्ष निकाल्न सकिने भन्दै त्यसका लागि पहल गर्न प्रम देउवालाई आग्रह गरेको प्रेस सहयोगी तिमल्सिनाले बताए ।