arrow

दुई डिग्रीमा झर्‍यो उपत्यकाको तापक्रम , चिसो अझै बढ्ने

logo
प्रकाशित २०७४ पुष १ शनिबार
kathmandu.jpg

काठमाडौँ । तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शनिवार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण शनिवार उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए । “जाडो याममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकास सफा र खुल्ला) पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुसारो परेको छ,”–उनले भने।

केही दिनयता पहाडी भेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुइरो लागेका कारण चिसो बढेकामा आइतबार बिहानदेखि क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् अर्यालको भनाइमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । गएराति काठमाडौँको तापक्रम माइनसमा झरेको थियो । शनिवार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाइ छ ।

दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औंल्याएका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम २ दशमलब ८ र अधिकतम २१ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस चार र सबैभन्दा बढी दिपायलमा २५ डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ