काठमाडौँ । महानगरीय अपराध महाशाखाले भारतको विहारबाट नेपालमा आई कवाडी सामान संकलन गर्ने नाममा चोरी गर्ने ‘चल्ला’ समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाको विभिन्न स्थानमा दिउँसो मानिस नभएको मौका छोपी चोरी गर्ने दिनेश पोदार, मुकेशकुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार र राजकुमार अधिकारीलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
उनीहरुले मान्छे नभएको समयमा झ्याल तथा ढोका फोरेर कोठामा भएको नगद, सुन चाँदीका गरगहना, विभिन्न मोबाइल र अन्य इलेक्ट्रोनिक्स सामानसमेत चोरी गरेका थिए । प्रहरीले पक्राउ परेकासँग चार थान मोबाइल, तीन थान घडी र फलामको रड एक थान बरामद गरेको छ ।
महाशाखाले पक्राउ परेकालाई आज कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ । लागुऔषधसहित नागढुङ्गाबाट एक व्यक्ति पक्राउ गरेको हो । यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रभागबाट खटिएको टोलीले आज दिउँसो चेकपोस्टमा सवारी जाँचका क्रममा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख ६२९१ नंको बसमा सवार काभ्रेका केशव थापालाई पक्राउ गरेको हो । थापाले झोलामा लुकाएर काठमाडौँ आउँदै गर्दा पक्राउ गरिएको हो । प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक केशव भट्टले डाइजेल्याब ३० एम्पुल, नुर्फिन ३० एम्पुल, फेनार्गन ३० एम्पुल र १० ग्राम गाँजा बरामद गरिएको जानकारी दिए । थापालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको भट्टले बताए ।