यसकारण जितिरहेछन् पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले, ६ वटा एम्बुलेन्स दिँदै
कृष्णबहादुर तामाङ
प्रकाशित २०७४ पुष ३ सोमबार
1.3k
Shares
रामेछाप । प्रदेश नम्बर ३ अन्तर्गत रामेछाप जिल्लाको नेपाली काँग्रेस रामेछापको प्रतिनिधि सभाको उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले २०७४ मंसिर १० गते भएको प्रतिनिधि सभाको चुनावमा पराजय भोग्नुपरे पनि मानवीय र समाज सेवाको आधारमा उनले रामेछापेली जनताको भावना माथि विजय हासिल गरेका छन्।
परोपकारी, मानवीय र समाजसेवाको कारण रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम) को लोकप्रियताले यसलाई पुष्टी गरेको छ ।
२०७४ वैशाख ३१ गते भएको स्थानीय चुनावलाई आधार मान्ने हो भने रामेछापमा नेपाली काँग्रेसको भन्दा वाम गठबन्धनको मत २९ हजार ६९२ बढी थियो ।
स्थानीय चुनावमा वाम गठबन्धनले ५५ हजार ७९६ र नेपाली काँग्रेसले २६ हजार १०४ मत प्राप्त गरेको थियो । २०७४ मंसिर १० गते भएको प्रतिनिधि सभाको चुनावमा नेपाली काँग्रेस रामेछापको प्रतिनिधि सभाको उम्मेदवार कान्छारामले ३५ हजार ७७१ मत प्राप्त गरे भने नेकपा माओबादी केन्द्रवाट उम्मेदवार बनेका वाम गठबन्धनको साझा उम्मेदवार श्याम कुमार श्रेष्ठ कुशलले ४२११७ मत प्राप्त गरे।
स्थानीय चुनावलाई आधार मान्ने हो भन्ने पुर्व गृह राज्यमन्त्री समेत रहेका वाम गठबन्धनको साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ कुशलले १३ हजार ६९७ मत गुमाएको देखिन्छ भने नेपाली काँग्रेसको प्रतिनिधि सभाको उम्मेदवार कान्छारामले ९ हजार ६६७ मत बढी प्राप्त गरेको देखिन्छ ।
प्रतिनिधि सभाको समानुपातिकमा नेपाली काँग्रेसले २६ हजार ६२७, नेकपा एमालेले २६ हजार ८५२ र माओबादी केन्द्रले १९४३७ मत प्राप्त गरेको छ । प्रतिनिधि सभामा रामेछापवाट समानुपातिकमा वाम गठबन्धनले ४६,२९८ मत प्राप्त गरेको छ।
नेपाली काँग्रेसले समानुपातिकमा प्राप्त गरेको मत भन्दा यो मत १९,४४६ बढी हो । प्रतिनिधि सभा रामेछापको प्रत्यक्षमा नेपाली काँग्रेसको उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) र वाम गठबन्धनको साझा उम्मेदवार श्याम कुमार श्रेष्ठ कुशलको मतान्तर ६,३४६ मात्र रहेको छ । यस आधारमा हेर्ने हो भने रामेछापमा नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार कान्छाराम विजयी भएको देखिन्छ ।
२०७४ मंसिर १० गते भएको प्रतिनिधि सभाको चुनावमा नेपाली काँग्रेस रामेछापको प्रतिनिधि सभाको उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई नेकपा एमाले र माओबादी केन्द्रको नेता, कार्यकर्ता र मतदाताहरूले पनि राम्रोसँग मतदान गरेको देखिन्छ ।
कान्छारामको परोपकारी र समाजसेवी भावनावाट प्रभावित भएर नेकपा एमाले र माओबादी केन्द्रको नेता, कार्यकर्ता र मतदाताहरूले कान्छारामलाई मतदान गरेको देखिन्छ भने वाम गठबन्धनको साझा उम्मेदवार श्याम कुमार श्रेष्ठ कुशल लाई आफ्नै नेता कार्यकर्ताहरूले वाध्यतावश मात्र मतदान गरेको देखिएको छ ।
माओबादी प्रभावित क्षेत्र बेथानको जनताले वाम गठबन्धनको साझा उम्मेदवार श्याम कुमार श्रेष्ठ ‘कुशल’ लाई तुलनात्मक रुपमा कम मतदान गरे ।
यसकारण बेथानवाट नेपाली काँग्रेसको उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले १३८६ मत प्राप्त गर्दा वाम गठबन्धनको उम्मेदवारले १३०३ मत मात्र प्राप्त गरे। बेथान यस्तो ठाउँ हो यसभन्दा पहिला त्यो ठाउँमा नेपाली काँग्रेसले आफ्नो झण्डा पनि देखाउन सक्ने अवस्था थिएन ।
पराजित भए पनि आफ्ना प्रतिबद्धता पुरा गर्दै
चुनावको समयमा हावादारी गफ गर्ने र चुनाव सकिए पछि विजयी भए पनि पराजय भए पनि चुनावी क्षेत्रमा नफर्किने र अर्को चुनावसम्म जनताको नदेखिने नेताहरूको संख्या हाम्रो देशमा धेरै भेटिन्छ।
नेपाली काँग्रेस रामेछापको प्रतिनिधि सभाको उम्मेदवार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले यसबाट पृथक रहि चुनाव अघि रामेछापको जनता सामु गरेको प्रतिबद्धताहरूलाई क्रमशः पुरा गर्दै जाने अठोट व्यक्त गरेका छन् ।
चुनाव अघि नेपाली काँग्रेस रामेछापको प्रतिनिधि सभाको उम्मेदवार कान्छारामले रामेछापको जनता सामु आफ्नै निजि खर्चमा रामेछापको बिभिन्न स्थानमा १२ वटा एम्बुलेन्स वितरण गर्ने घोषणा गरेका थिए।
चुनावमा पराजय भए पनि कान्छारामले चुनाव अघि रामेछापेली जनता बीच गरेको प्रतिबद्धतालाई पुरा गरेरै देखाउने भएङ्का छन्। आगामी १ महिना भित्रै रामेछापको जनतालाई ६ वटा एम्बुलेन्स प्रदान गर्ने कार्यक्रम कान्छारामको सचिवालयले तय गरेको छ ।
चुनाबी अभियानका क्रममा कान्छारामले खाँडा देबि – मईमन्दिर, ठोसे रस्नालु – चुचुरे, धोवी नागदह–बिजुलीकोट– सैपु– दुरागाउँ, हिमगंगा –रामपुर – ओख्रेनी, गेलु – चनाखु , फुलासी– दोरम्बा– डडुवा, बेथान– हिलेदेवी, साँघुटार – देउराली, प्रिती– गुप्तेश्वर– भुजी गरि ९ स्थानमा एक एक थान एम्वुलेन्स दिने घोषणा गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट यहि महिना भित्र ६ वटा एम्बुलेन्स बितरण गर्ने उनले योजना बनाएका छन्। केहि वर्षअघि कान्छारामले वितरण गरेका एम्बुलेन्सहरू रामेछापको बिभिन्न स्थानमा अहिले पनि राम्रोसँग सन्चालन भइरहेको छ ।
प्रतिनिधि सभामा एउटा र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको रामेछापमा कान्छारामले दुवै क्षेत्रको बाटो निर्माण गर्नको निम्ति एक एक वटा स्काभेटर पनि किनेर दिने घोषणा गरेका छन्।
ति स्काभेटरको बजार मूल्य एउटाको कम्तिमा पनि ९५ लाख रुपियाँ पर्छ । पूर्ण बहादुर तामाङ कान्छारामले यी सवै काम आफ्नै व्यक्तिगत खर्चमा गरिरहेका छन्।
यसको अलावा कान्छारामले रामेछाप र रामेछापको जनताको विकाश निर्माणको निम्ति आफ्नो तर्फबाट योगदान गर्दै आएका छन्। बाढी पहिरो र महाभूकम्पमा परि गम्भीर घाइते भएका बिरामीहरूलाई आफ्नै निजि खर्चामा हेलिकोप्टर चार्टर गरेर सयौंको उद्धार गरेका उनले काठमाडौंमा आफ्नै लगानीमा संचालित नागरिक हस्पिटलमा रामेछापको बिरामीहरूलाई ३० प्रतिसत सम्म छुट गरि उपचार गराएका थिए।
अस्पतालमा भर्ना भएका बिरामीहरूलाई निशुल्क बेड उपलब्ध गराएका उनले २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परि मृत्यु भएका रामेछापबासीहरूलाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँको दरले सहयोग वितरण गरेका थिए।
२०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पवाट घाइते भएका विरामीहरूको उद्धार र राहतको निम्ति तत्काल उनले रामेछाप जिल्लाको प्रत्येक वार्डहरूको निम्ति व्यक्तिगत रूपमा ५० हजार रुपियाँको दरले वितरण गरेका थिए ।
२०७४ साउन १ गते रामेछापको खिम्तीको पहिरोमा परि गम्भीर घाइते भएका बिरामीहरूको पनि कान्छारामले आफ्नै निजि खर्चमा हेलिकोप्टरवाट उद्धार गरेर काठमाडौं ल्याइ उपचार गराएका थिए।
कान्छारामको पहलमा खिम्तीदेखि फर्पु नामाडी, बेताली रस्नालु ठोसेशिवालय र गर्जंगसम्मको मोटरबाटो कालोपत्रे हुने भएको छ भने उनकै पहलमा रामेछापको बिभिन्न स्थानमा गुम्बा, बिहार, मठमन्दिर, बिद्धालय भवन, स्वास्थ्य चौकी, पुल पुलेसा र मोटरबाटोहरूको निर्माण भइरहेको छ । यस मध्यको कतिपय योजनाहरू उनले आफ्नै खर्चमा पनि गरिरहेका छन्।
रामेछाप जिल्लाको कोशीवारी प्रदेश ‘क’ र कोशीपारी प्रदेश ‘ख’ को निम्ति पाँच वर्ष सम्म प्रत्येक वर्ष २५ –२५ लाख रुपैयाँ गरि ५० लाख रुपैयाँ दिने कान्छारामले घोषणा गरेका छन्।
चुनावमा विजयी भए पश्चात राज्यवाट आफुले प्राप्त गर्ने सवै सेवा सुबिधा नलिने र लिनुपर्ने नै भएको अवस्थामा आफुले प्राप्त गर्ने सेवा सुबिधा पनि रामेछापको जनतालाई दिने घोषणा गरेका थिए।
उनले निर्वाचित भएर गर्न सक्ने काम गर्न नपाएपनि उनले निर्वाचित नहुँदा नि गर्ने भन्ने काम गरेर देखाए भने आगामी दिनको उनको राजनीतिक र सामाजिक सेवाको यात्रामा प्रसंसाको वर्षा हुने पक्का छ।