काठमाडौं। केहीदिन अघि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसदीय दलको नेता र पार्टी अध्यक्ष दुबै अध्यक्ष केपी ओली नै बन्ने भनेर अभिव्यक्ति दिएपछि राजनीतिक बृत्तमा एउटा छुट्टै हलचल ल्याईदिएको छ। पार्टी एकताको तयारीमा रहेको एमाले र माओवादीबीच कुन् पद कसलाई दिने भन्ने विषय व्यवस्थापन गर्नको लागि अहिले फलामको च्यूरा चपाउन जस्तो कठिन भईरहेको छ।
पोखरेलले मात्रै होईन पार्टीका अन्य प्रभावशाली नेताहरुले पनि पत्रकारहरुसँगको कुराकानीमा पार्टी अध्यक्ष चाहिँ माओवादी अध्यक्ष प्रचण्डलाई दिन सकिने कुरा गरेका छैनन्। प्रचण्ड प्रधानमन्त्रीको लाईनमा छैनन्। उनी पार्टीको नेतृत्व सम्हालेर ओलीलाई प्रधानमन्त्री दिने पक्षमा छन्। तर प्रचण्डको यो चाहानामा एमाले नेताहरु भने सहमत देखिँदैनन्।
एमाले नेताहरुको पछिल्लो व्यवहार र अभिव्यक्तिले उनीहरु बरु सरकारमा माओवादीलाई जस्तो हिस्सा दिन परेपनि तयार देखिन्छन्। तर, पार्टीमा भने भरसक अरुलाई नेतृत्व दिने आँट गरिरहेका छैनन्। बरु माओवादी अध्यक्षलाई नेतृत्व दिनु भन्दा त २ नं प्रदेशमा सरकार निर्माणको व्यवस्थापन गर्न सके माओवादीसँगको सहकार्य नै तोड्ने मनस्थितीमा पुगेको छ। बाम गठबन्धनमा जोडिएका दुई पार्टीहरु नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी नेतृत्वको विषयमा कुरा नमिल्दा २ नं प्रदेशमा सरकार गठनको कुरा मिले माओवादीसँगको सहकार्य नै तोड्ने पक्षमा एमाले लागेको एमाले निकट स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार एमालेको टाउको दुखाई सरकारमा जाँदा गर्नुपर्ने भागवण्डा भन्दा पनि प्रधानमन्त्रीको लागि पार्टी अध्यक्ष छाड्नुपर्ने भन्ने विकल्प टाउको दुखाईको विषय बनेको हो। यही विषयलाई व्यवस्थापन गर्नको लागि एमाले अहिले मधेशबादीदलहरुसँग समेत व्यापक छलफलमा जुटेको छ।
प्रदेश नं २ मा मधेशी गठबन्धनसँग सहकार्य गरेर अघि बढ्दा एमालेले ६ प्रदेशमा सहजै सरकार बनाउन सक्छ। संघीय समाजवादी फोरमसँगको सहकार्यमा २ नं प्रदेशको सरकार बनाउन सके केन्द्रमा पनि उसैलाई सम्मानजनक मन्त्रालय दिएर व्यवस्थापन गर्न पक्षमा छ एमाले। तर २ नं प्रदेशमा एमाले र फोरमले मात्रै सरकार नबन्ने भएपछि अहिले एमाले केही समस्यामा परेको छ।
स्रोतका अनुसार पार्टी नेतृत्व माओवादीलाई दिनु भन्दा त फोरमसँग सहकार्य गरेको खण्डमा आफूलाई फाईदा हुने दबाब एमाले नेतृत्व पंक्तिलाई आईरहेको छ। त्यसैले पनि एमाले अहिले दोहोरो दबाबमा छ।
एमालेमा पनि सरकारको भन्दा पार्टीको माया धेरै देखिएको छ। प्रचण्ड अध्यक्ष बनेर आए भने एमालेमा आफ्नो भन्दा उनकै पहुँच बढी बनाउने भन्दै एमाले नेताहरुले प्रचण्डलाई अध्यक्ष कुनैपनि हालतमा नदिन दबाब दिएपछि उनीहरु यस्तो मनस्थितीमा पुगेका हुन्। पार्टीलाई एउटा सानो दललाई साथमा लिएको खण्डमा एक्लै सरकार बनाउन पुग्ने जनादेश आईसकेको खण्डमा माओवादीसँग सहकार्य गरेर झनै पार्टीको संगठन संरचना नै भद्रगोल बनाउन नहुने सुझाव एक थरीका नेता कार्यकर्ताको छ।