ठूला मन्त्रालय एमालेले राख्न खोजेपछि माओवादीसँग भागवण्डामा समस्या
प्रकाशित २०७४ पुष ५ बुधबार
840
Shares
काठमाडौं। सरकार गठन र पार्टी एकताको विषयमा कुरा नमिलेर झेला सुरु भएको माओवादीभित्र पछिल्लो समय भिन्न भिन्न विषयमा तिक्तता बढ्दै गएको छ। एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताईरहेको बेला माओवादीले पनि एमालेप्रति अविश्वास व्यक्त गर्दै पार्टी एकीकरण पछि मात्रै सरकार गठन गर्ने अडान दोहोर्याएको छ।
यी पछिल्ला राजनीतिक घटनाक्रमहरुले माओवादी र एमालेबीच केही असमझदारी सुरु भएको बुझिएको छ। माओवादी र एमाले भित्रका पार्टी एकताका विरोधी शक्तिहरु चल्मलाउन थालेका छन् भने एमालेभित्र पनि अहंकारी रुप बढ्न जाँदा पार्टी र सरकार गठन प्रक्रियामा पनि सहमति जुट्न सकिरहेको छैन।
पछिल्लो समय सरकार गठनको विषयमा बाहिर १५ मन्त्रालय र १० मन्त्रालय दिने भनेर भागवण्डा गरेको भएपनि भित्री रुपमा भने कुनै स्पष्ट छलफल समेत नभएको बुझिएको छ। सत्ता साझेदारीमा प्रधानमन्त्री एउटा पार्टीको हुँदा गृहमन्त्री अर्को पार्टीको हुने चलन थियो। तर, नेकपा एमालेले अहिले माओवादीसँग नयाँ बखेडा निकालेर गृहमन्त्री पनि नदिने तयारी गरेपछि अहिले मन्त्री बनाउने विषय अन्योलमा परेको छ।
माओवादी नेता हितराज पाण्डे अहिलेसम्म माओवादीले पाउने मन्त्रालय र त्यसको संख्याको बारेमा समेत सहमति हुन नसकेको बताउँछन्। उनले हाम्राकुरासँगको कुराकानीमा कुन् कुन् मन्त्रालय आफ्नो भागमा पर्ने भन्ने यकीन नहुँदा माओवादीले मन्त्रीहरुको नाम तय गर्न समेत नसकेको जानकारी दिए। सबैले राम्रा मन्त्रालय आफैंले राख्न खोज्दा समस्या भएको उनको बुझाई थियो।
नेता पाण्डेले पार्टी एकीकरणको कुरा भिन्दै रहेको र सरकार गठनको विषय भिन्दै रहेको भन्दै ४० प्रतिशत मन्त्रालय माओवादीको भागमा परेको भएपनि अहिले कुन् कुन् मन्त्रालय कसलाई दिने भन्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिए।
सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढाउने बताउँदै आएका शीर्ष नेताहरूले पार्टीभित्र एकताको विषयमा अनेकथरी चर्चा चलेपछि एकताको खाका चाँडै टुंग्याउनेगरी प्रयास थालेका छन्। माओवादीले सरकार भन्दा पहिले पार्टी एकीकरण भनेर प्रस्ताव गरेपछि अहिले सरकार गठनको काम प्रभावित बन्न पुगेको हो। तर, पूर्व सहमति अनुसार एमाले नचलेपछि समस्या सिर्जना भएको माओवादी नेताहरुले बताएका छन्।
नेकपा माओवादी केन्द्रको सोमबार बसेको सचिवालय बैठकले सरकार गठनअघि नै एकताको विषय टुंग्याउनुपर्ने निर्णय गरिसकेको छ। माओवादी बैठकको निर्णयसँगै एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय सुवास नेम्वाङ र शंकर पोखरेलबीच मंगलबार गोप्य छलफल भएको कुरा समेत बाहिर आएको छ।