arrow

एमाले सांसद सिलवालविरुद्ध मुद्दा पर्‍याे, पक्राउ गर्न प्रहरी परिचालन

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
navaraj-silwal.jpg

काठमाडौं । एमालेबाट ललितपुर क्षेत्र –१ मा प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्ध मुद्दा दर्ता भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले बढुवाका लागि सर्वोच्चमा पेश गरेका फर्जि कागजातबारे अनुसन्धान गर्दै मुद्दा दर्ता भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले हाम्राकुरासँग भने, ‘सर्वोच्चले अनुसन्धानका लागि दिएको आदेश कार्यान्वयनको सिलसिलामा अनुसन्धानका लागि  मुद्दा दर्ता भएको हो ।’ काठमाडौं प्रहरीले सिलवालविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

मुद्दा दर्ता हुनासाथ नवनिर्वाचित सांसद सिलवाल अभियुक्त भएका छन् । सरकारले प्रहरी प्रमुख नियुक्त गर्दा आफुमाथि अन्याय गरेको भन्दै पटक–पटक सर्वोच्च पुगेका सिलवालले कार्यसम्पादन मूल्यांकनको विवरण फर्जि बनाएको भन्दै सर्वोच्च अदालतले त्यसमा संलग्नहरुलाई अनुसन्धान गरी कारबाहीका लागि आदेश दिएको थियो । गएको साता मात्रै सर्वाेच्चले फैसलाको पूर्णपाठ सहित प्रहरीलाई चिठी पठाएको थियो ।  

जिल्ला अदालतमा फौजदारी अभियोगको मुद्दा दर्ता भएसँगै सिलवाल सांसदबाट निलम्बनमा पर्ने छन् । सिलवाल दोषी देखिए सरकारी छाप र कागजात दुरुपयोग गरेकामा १ वर्ष कैद सजाय हुनेछ । महान्यायाधिवक्ताको कार्यालय अनुसार यदी गृहमन्त्रालयको कर्मचारीको पनि त्यसमा संलग्नता भए ती कर्मचारीलाई दोब्बर सजाय हुने प्रावधान छ ।

यस्तै, मुद्दा दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको समेत बताइएको छ । सांसद निर्वाचित भए पनि सपथ नखाएकाले सिलवाललाई पक्रन  सभामुखको स्वीकृति आवश्यक नपर्ने बताइँदै छ । सिलवाल पक्राउ परेपछि थुनामा राखेर थप अनुसन्धान थालिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सर्वोच्चमा सिलवालले बुझाएको कार्यसम्पादन मूल्याङ्कन गृहमन्त्रालय र लोकसेवा आयोगबाट झिकाइएको कपिसँग नमिलेको भन्दै सर्वोच्चको पूर्ण इजलासले सिलवालले अनुसन्धान रोक्न भनि हालेको रिट खारेज गरेर अनुसन्धान गरी कारबाहीका लागि आदेश दिएको छ । चुनावको मुखमा प्रहरीले थालेको अनुसन्धान रोक्न उनले रिट हालेका थिए  । उनको रिटमा दिइएको अन्तरिम आदेश पनि कायम नरहेको फैसला सर्वोच्चले गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ