arrow

जनकपुरबाट निधि बोले : 'राष्ट्रपतिबाट अध्यादेश रोक्ने संवैधानिक प्रावधान छैन'

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
bimalendra-nidhi.png

जनकपुरधाम । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताएका छन् । रामानन्द युवा क्लबद्वारा आज जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा राष्ट्रपतिले कार्यकारी झै बन्न खोज्नु राष्ट्रमा अन्योल सिर्जना गर्नु हो भने। 

सरकारले आमनिर्वाचन पूर्व नै अध्यादेशमार्फत एकल सङ्क्रमणीय पद्धतिका आधारमा राष्ट्रियसभाको निर्वाचन गराउनुपर्छ भनी राष्ट्रपतिसमक्ष विधेयक पेस गरेको अवस्थामा राष्ट्रपतिको भूमिका संवैधानिक प्रावधान अनुरूप नहुनु चिन्ताको विषय भएको उनले बताए । पूर्वउपप्रधानमन्त्री निधिले सत्ता हस्तान्तरणको बाधक प्रधानमन्त्री नभई संवैधानिक प्रक्रिया हो भन्दै यस यथार्थभन्दा विपरित नेकपा (एमाले)का नेताले भ्रम सिर्जना गरिहेकामा आपत्ति जनाए। 

उनले मधेशको अस्तित्व लुम्बिनी र मिथिला भएकाले लुम्बिनी र मिथिलाको संस्कृति, भाषा र पहिचानलाई खण्डित गर्ने कार्य कुनै पक्षबाट गर्न नहुने धारणा राखे। उनले प्रदेश नं २ को राजधानी जनकपुरधाम घोषणा गर्नुपर्छ भने। धनुषा क्षेत्र नं ३ बाट नवनिर्वाचित प्रदेशसभा सदस्य रामसरोज यादवले मिथिलाको संस्कृति, भाषा र परम्परा अतुलनीय भएकाले २ नं प्रदेशको नाम ‘मिथिला प्रदेश’ हुनुपर्छ भने । 

साहित्यकार डा राजेन्द्र विमलले मिथिलाको संस्कृति गौरवमय भएकाले यसबारे विवाद सिर्जना नगरी यस प्रदेशको नाम मिथिला प्रदेश हुनुपर्ने धारणा राखे । सो अवसरमा नेता निधिले कथाकार सुजितकुमार झालाई ‘विद्यापति स्मृति पदक’, नाट्यकर्मी सुनिल मिश्रलाई ‘सरस्वती राजनारायण पुरस्कार’ र समाजसेवी पवन सिंघानियाँलाई ‘मिथिला भूषण पुरस्कार’बाट सम्मान गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ