काठमाडौं । नेपाल अपाङ्ग महिला संघको आयोजना तथा सि.वि.एम.को सहयोगमा स्थानीय संरचनामा अपाङ्गताका सवाल र समावेशीता विषयक अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी कार्यक्रम संयोजक लक्ष्मी न्यौपानेले स्थानीय संरचनामा अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई कसरी समावेश गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताइन् ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव डोरेन्द्र निरौलाले अपाङ्गा भएका व्यक्तिहरुको लागि १० वर्षे कार्ययोजना ल्याएको, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनलाई अपाङ्गता मैत्री नियमावली बनाउने तर्फ काम गरिरहेको बताइन् ।
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले स्थानीय संरचनामा अपाङ्गताका सवाल र समावेशीता विषयमा कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई सभ्यभाषा प्रयोग गर्दौ सम्मानजनक रुपमा हेर्नु पर्ने बताइन् ।
सो कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत रविन्द्र आचार्यले नेपालमा स्थानीय सरकारको संरचना अपाङ्गता भएका व्यक्तिहरुको स्थान र भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसै गरी सि.वि.एम.का वरिष्ठ कार्यक्रम अधिकृत पदम महरले सबै स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता हुनु पर्ने बताउनु भयो भने माइराइट नेपालका राष्ट्रिय संयोजक शिव रायमाझिले सबै निकायमा अपाङ्गता मैत्री वातावरण र सेवा सुविधा लिन सक्ने व्यवस्था हुनु पर्ने बताए ।
त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि एवं बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले आफुले बनाउने सबै संरचनाहरु अपाङ्गता मैत्री बनाउदै उनीहरुका लागि पनि कार्यक्रम सञ्चालन गर्ने बताएका थिए । त्यसै गरी गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालले आफ्नो नगरपालिकाबाट अपाङ्गता भएका व्यक्तिहरुको लागि सक्दो सहयोग गर्ने बताउनु भयो भने सुर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हितमा काम गर्न आफु प्रतिवद्ध रहेको बताए ।
सो कार्यक्रममा नेपाल नेत्रहिन संघका निर्देशक नरबहादुर लिम्बुले अपाङ्गताका सवाललाई विकाससँग जोड्नु पर्ने बताए भने नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले सबै स्थानीय निकायहरुका कार्यक्रमहरुमा अपाङ्गताका सवाललाई समावेश गर्दै काम गर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्थानीय निकायहरुका कार्यक्रमहरुमा अपाङ्गता मैत्री भौतिक संरचना, स्वास्थ्य, सहायक सामाग्री लगाएतका सवाल समावेश गरेर काम गर्नु पर्ने कुरामा जोड दिएका थिए ।