जनतालाई कांग्रेस पार्टी मन पर्यो, नेतृत्व मन परेन : प्रकाशमान सिंह
प्रकाशित २०७४ पुष ६ बिहिबार
220
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकिएको बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंले प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा विजयी ‘बधाई तथा सम्मान’ दिन राखेको कार्यक्रममा नेता सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा पराजय भोग्नुपरेको बताए। पूर्वमहामन्त्री सिंहले जनतालाई पार्टी मन परे पनि नेतृत्व मन नपरेका कारण धेरै स्थानमा हार व्यहोर्नुपरेको विचार व्यक्त गर्दै भने, “पार्टीभन्दा नेता र व्यक्ति ठूलो हुन सक्दैन, त्यसैले पार्टीमा सुधार आवश्यक छ।” पार्टीभित्र पदाधिकारी, केन्द्रीय सदस्य र विभागले पूर्णता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो।
ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले कांग्रेस मजदुरको जगमा उभिएको पार्टी भएकाले मजदुरको समस्या समाधानका लागि पार्टीले विशेष चासो दिनुपर्नेमा जोड दिए। ट्रेड युनियन काठमाडौंका अध्यक्ष गणेश भट्टराईले श्रमिकको अधिकार स्थापना गर्नका लागि आफूहरु सधैँ क्रियाशील रहेको र संस्थालाई पनि पार्टीको सहयोग आवश्यक रहेको बताए। रासस