पुटिन आगामी राष्ट्रपतिको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार
रसियालाई आधुनिकीकरण गर्ने प्रतिवद्धता
प्रकाशित २०७४ पुष ८ शनिबार
255
Shares
मस्को, रसिया। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियालाई आधुनिकीकरण गर्ने आफ्नो अवधारणा शनिबार रसियाली सत्ताधारी दलको महाधिवेशनमा प्रस्तुत गरेकाछन्। पुटिनले आगामी मार्चमा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारी रसियालाई थप समुन्नत बनाउदै आधुनिकीकरण गर्न लक्षित रहने बताएका हुन्। उनले रसियाली सत्ताधारी पार्टी यूनाइटेड रसियाबाट उम्मेदवारी नदिई यस पटक स्वतन्त्र उम्मेदवारका हैसियतमा नयाँ कार्यकालका लागि प्रतिस्पर्धा गर्दै छन्।
तरपनि उनी शनिबार रसियाली सत्ताधारी यूनाइटेड रसियाको महाधिवेशनमा सहभागीता जनाएकाछन्। कार्यक्रममा उनले रसियाको अन्य मुलुकसँग व्यापार प्रवद्र्धन, भ्रष्टाचारलाई रोक्ने, रसियामा अहिले कम लगानी रहेको स्वास्थ्य सेवा तथा शिक्षामा लगानी गरी रसियालाई अघि बढाउने काममा आफ्नो नयाँ कार्यकाललाई केन्द्रित गर्ने बताए।
रसियाली नेता पुटिनलाई टक्कर दिन अन्य उम्मेदवार पनि मैदानमा आउने घोषणा भएपनि पुटिनले नयाँ कार्यकालमा जीत निकाल्ने पक्कापक्की नै रहेको निर्वाचनका विषयमा लिइएका सर्भेक्षण नतिजाले देखाएका छन्।
यद्यपि उनको विपक्षमा उभिन रसियाली टेलिभिजनका प्रसिद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता क्सेनिया सोबचक सहित केही नेताले पनि मार्चमा हुने राष्ट्रपतीय निर्वाचनका लागि शनिबार औपचारिक रूपमा उम्मेदवारीको दर्ता गरेकाछन्। रासस-सिन्ह्वा