arrow

नवराज सिलवाललाई तत्काल पक्राउ गर्न प्रहरी प्रमुख अर्यालकै निर्देशन

logo
प्रकाशित २०७४ पुष ९ आइतबार
navaraj-silwal.jpg

काठमाडौं । नेपाल प्रहरीका प्रमुख महानिरीक्षक प्रकाश अर्यालले पूर्वडिआइजी तथा सांसद नवराज सिलवाललाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् ।

फर्जी काण्डमा मुछिएका सिलवाललाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाउन अर्यालले ललितपुर प्रहरीलाई निर्देशन दिएका हुन् ।

सर्वोच्च अदालतको आदेश अनुसार आफूहरु सिलवाललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन वाध्य भएको उच्च प्रहरी स्रोतले जनाएको छ ।  

नेपाल प्रहरी मुद्दा दर्ता भइसकेकाले पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै पक्राउ गरी प्रक्रिया अगाडि बढाउन वाध्य भएको हो । 

ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुरु गरेको हो ।

सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । 

अदालतको आदेशलाई काठमाडौं जिल्ला प्रहरीले समन्वय गरेर ललितपुर प्रहरीलाई पक्राउ गर्न भन्नु पर्नेमा जवरजस्ती प्रहरी प्रमुखले नै आदेश दिनु परेको हो । 

ललितपुर प्रहरी प्रमुख सिलवालप्रति नरम देखिएको र काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुक बाम गठबन्धनसंग नजिक भएकाले प्रहरी संगठनमा नवराज पक्राउ काण्डलाई लिएर समस्या भएको हो । 

धानुक माओवादी केन्द्रका नेता जनार्दन शर्मा गृहमन्त्री भएका बेलामा काठमाडौंमा ल्याइएका थिए । 

सर्वोच्चको आदेशको मर्यादा उल्लंघन गरेकाले उनीहरुलाई गृह प्रशासनले सरुवा गर्ने सम्मको कुरा पनि चर्चामा आएको छ । 

सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।

त्यसपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । आदेश अनुसार सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

त्यसमा पनि असन्तुष्टी जनाउँदै सिलवाल फेरि सर्वोच्च गएका थिए । 

उनले आफू अन्यायमा परेको भन्दै राजनीतिबाटै समाधान खोज्न एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिँदै त्यसलाई मुद्दा बनाएर ललितपुर १ बाट चुनाव नै जिते । 

उनले सपथ लिइसकेका छैनन् । त्यसअघि नै उनलाई सर्वोच्चमा बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ । 

सिलवालले बदमासी गरेको ठहर भए  उनको सांसद पद खोसिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ