चितवन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताएकाछन्। उद्योग संघ चितवनले आज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब रहने छैन भने।
उनले भने, “अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ।” स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार संयुक्त रुपमा सँगै रहेको भन्दै उनले आयात निर्यात सम्बन्धी राष्ट्रका हितविपरित कानुनलाई संशोधन गर्नुपर्ने बताए। उनले भने, “हामी सबैले संकल्प गर्न सक्यौँ भने आउने पाँचवर्ष भित्रमै केही न केही आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र र दुनियाँको अगाडि राख्न सकिन्छ भन्ने विश्वास छ।”
अहिले नै आफूले बढी भन्न नचाहेको भन्दै उनले निजी क्षेत्रका व्यवसायीको मागलाई अब बन्ने सरकारले गम्भीरतापूर्वक लिने बताए। शान्ति, सुशासन र समृद्धिकाबीचमा गहिरो अन्तरसम्बन्ध रहेको भन्दै उनले यी तीन वटालाई एक ठाउँमा जोडेर हामीले काम गर्न सक्यौँ भने विकासले तीव्रगति लिने बताए।
कार्यक्रम भईरहेको उद्योग संघ चितवनको अगुवाइमा बन्दै गरेको प्रदर्शनी केन्द्रलाई लक्षित गर्दै उनले निजी साझेदारीमा भएका कतिपय काम निकै नमुनायोग्य भएको बताए। सो अवसरमा प्रदेश सांसद विजय सुवेदीले देशलाई अब समृद्धितर्फ लैजानुपर्ने बताए। उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा सुशासन भएसँगै समृद्धि आफैँ हुने बताए। रासस