arrow

प्रमुख अतिथि बन्ने हैसियतका नेता नै नभएको नेपाली काँग्रेस !

logo
प्रकाशित २०७४ पुष ९ आइतबार
kP_in_badegau.jpeg

काठमाडौं । शनिबार नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मदिन थियो । काँग्रेसको संस्थापकको जन्मदिनको दिन उनको नामबाट खुलेको प्रतिष्ठानले आयोजना गरेको समारोहमा काँग्रेसकै कुनै नेताहरु जानुपर्ने हो । तर, त्यसो भएन, न त प्रतिष्ठानले बोलायो न त कोही गए । काँग्रेसका प्रकाशमान सिंह बाहेक कोही पनि नेताहरु सो कार्यक्रममा उपस्थित भएनन् । बरु कार्यक्रममा प्रमुख अतिथि बनेर आए नेकपा एमालेका अध्यक्ष केपी ओली । 

बाँडेगाउँमा आयोजित सो कार्यक्रममा केपी ओली प्रमुख अतिथि बनेसँगै काँग्रेसजनमा एउटा नयाँ चर्चा र कार्यकर्तामा आक्रोश सुरु भएको छ । केपी ओलीलाई प्रमुख अतिथि यस्तो समयमा बनाईएको छ जुन बेला काँग्रेस र एमालेबीचको दूरी चुम्बकका दुई ध्रुवजस्तै बनेका छन् । 

यस्तो अवस्थामा केपीओलीलाई प्रमुख अतिथि बनाईएसँगै के नेपाली काँग्रेसभित्र प्रमुख अतिथि बन्न योग्य कुनै नेता नभएर प्रमुखअतिथि भाडामा ल्याउनु परेको हो ? या प्रतिष्ठानका सदस्यहरुको व्यक्तिगत असन्तुष्टिका कारण यस्तो गरिएको हो ? उनीहरुले यस विषयलाई जतिसुकै हलुका रुपमा लिएपनि यो विषयले महत्व राखेको छ । 

हाम्राकुरा डटकमले यस विषयमा किसुनजीकी सहयोगी भनेर चिनिने अमिता कपालीलाई सम्पर्क गरेका थियौं । उनले हाम्राकुरासँगको कुराकानीमा काँग्रेसका शीर्ष नेता व्यस्त भएर आउन नभ्याएको हुनसक्ने बताईन् । एमालेको अध्यक्षलाई प्रमुख अतिथि बनाईएको कार्यक्रममा कसरी आउँछन् त ? किन एमाले अध्यक्षलाई प्रमुख अतिथि बनाईयो ? भन्ने प्रश्नमा उनले प्रतिष्ठानका सचिव युवराज घिमिरेको छनोट अनुसार प्रमुख अतिथि छनोट भएको प्रतिक्रिया दिईन् । 

यो जसको सुकै छनोट अनुसार प्रमुख अतिथि छानियोस् । तर, नेपाली काँग्रेसले आधिकारिक रुपमा किसुनजीको जन्मजयन्तीमा आधिकारिक कार्यक्रम नगरिनु र प्रतिष्ठानले गरेको कार्यक्रममा पनि अर्काे पार्टीका नेतालाई सापटीमा प्रमुख अतिथि ल्याईनुलाई महत्वका साथ हेरिएको छ । 

उता, केही दिन अघि वीपी बाँचिरहेको भए एमालेमा प्रवेश गर्थे भन्ने अभिव्यक्ति दिएका केपी ओली सो अभिव्यक्ति दिएको १५ दिन पनि नबित्दै कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीमा प्रमुख अतिथि बन्ने मौका ओलीलाई मिल्यो । उनी कार्यक्रममा सुरुदेखि अन्तिमसम्म पनि एकदमै हर्सित देखिन्थे । उनी प्रमुख अतिथि बनेको कार्यक्रममा काँग्रेस नेता प्रकाशमान सिंह भने उपस्थित भएका थिए । प्रमुख अतिथि केपी ओलीले कार्यक्रममा बोल्दै सत्तापक्ष र प्रतिपक्षसँग आपसमा दम्भ देखाउनु आवश्यक नरहेको बताए । “गाई भैँसी चराएर हुर्किएको हुँ । म कोदालो खनेको मान्छे हुँ । मसँग केको दम्भ हुन्छ र ?,” उनले भने, “आफ्नो बारीको साग आफैं टिपेर खाने मान्छे हुँ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ