ख्रीष्टमस दिवस मनाइँदै, सार्वजनिक बिदा, के भने प्रधानमन्त्री र राष्ट्रपतिले !
प्रकाशित २०७४ पुष १० सोमबार
710
Shares
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस क्रिसमस दिवस मनाइँदैछ ।
यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।
येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ ।
विसं २०६२–०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको छ ।
नेपालको ख्रीष्टियन इतिहास ४०० वर्षभन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेषगरी विभिन्न मण्डली ९चर्च० र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए ।
हाल देशभर १२ हजराभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ ।
ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले ख्रीष्टमस महोत्सव २०७४ राष्ट्रिय सभागृहमा दिनको ३ः०० बजे आयोजना गरेको अध्यक्ष सिवी गहतराजले जानकारी दिए ।
प्रधानमन्त्री देउवाद्वारा ख्रीष्टमसको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले ख्रीष्टियनको महान् पर्व ख्रीष्टमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले एक विज्ञप्तिमार्फत नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबेै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको बताए ।
“यहाँ सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको छ, येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन् । उनले देखाएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ”– विज्ञप्तिमा उल्लेख छ ।
धर्म–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा केन्द्रित हुनुपर्छः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डरीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् ।
क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गरी उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश हो भन्दै यहाँ मनाइने हरेक चाड पर्व राष्ट्रिय धरोहरका रुपमा रहेका छन् र यी चाडपर्वले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।
नेपालीबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा हामी सबै केन्द्रित हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ–आफ्नो स्थानबाट सक्दो योगदान गर्नसकेमा नेपालको चौतर्फी प्रगति छिटो हुनेछ भन्ने विश्वास लिँदै इसाई धर्मावम्बीको यस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना उनले गरिन् ।