काठमाडौं । वाम गठन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका अध्यक्षबीच हुने भनिएको एक्ला–एक्लै वार्ता टरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार पनि वातमार्न पाएनन् ।
दाहाल गृहजिल्लाबाट ढिलो फर्किए । अपराह्न गृहजिल्लाबाट फर्किएका दाहाल सिधै खुमलटारस्थित नयाँ निवास हानिए । पार्टी एकता र सरकार गठनका विषयमा निकै टिकाटिप्पणी भइरहेक बेला यी दुई शीर्ष नेताबीच भेट हुने कुरा थियो ।
सोमबार मात्रै माओवादी अध्यक्ष दाहालले काठमाडौं फर्किनेवित्तिकै राष्ट्रिय सभा सदस्य निर्वाचनको अध्यादेशबारे पहिले वाम गठबन्धनमा समाधानको उपाय खोज्ने र पछि काँग्रेससँग कुरा गर्ने बताएका थिए ।
दाहाल दिउँसो ३ बजे काठमाडौं आउने तालिका थियो । उडान ढिला भएकाले मंगलबार संवादको वातावरण नबनेको उनको निजी सचिवालयले जनाएको छ ।
मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको थियो । अब त्यो बैठक पनि वुधबार मात्रै हुने एमाले नेताहरुले बताएका छन् । माओवादी केन्द्रले समेत वुधबार विहान वार्ता हुने जनाएको छ ।