arrow

प्रचण्ड भित्राएर ओलीलाई ठेगान लगाउन सक्लान् माधव कमरेडले ? के होला एकता ? 

logo
बाबु नेपाली,
प्रकाशित २०७४ पुष १२ बुधबार
united.JPG

काठमाडौं । ‘नेपालका कम्युनिष्टहरु जति छिटो टाँसिन्छन् त्यति नै छिटो मासिन्छन्’ भन्ने भनाइ नौलो हैन । २००६ सालदेखि नेपालमा स्थापित कम्युनिष्ट पार्टीले आरोह अवरोध पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ । 

पहिलो पटक कम्युनिष्टले बहुमत हासिल गर्दै आफूलाई उच्च कोटीमा राखेको छ । यो बहुमत नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको चुनावी गठबन्धनबाट आएको परिणाम हो । 

चुनावी एकीकरण गर्दा नै भनिएको थियो कि यो चुनावी एकतामात्र हैन अब पार्टी एकता नै हो । भन्न जति सजिलो भयो जोड्न त्यति नै गाह्रो भइरहेको छ । 

मंसिर २२ गतेदेखि पार्टी एकताको महल थालिने बताएर चुनावी भन्दा पनि एकताको ध्यान खिचेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक कार्यकर्तालाई निराश पारेका छन् । 

अझ त्यो भन्दा बढी त कम्युनिष्ट गठबन्धनलाई सघाएपछि मेरो ब्यापार फस्टाउँछ भनी चुनावमा नगद लगानी गर्ने ब्यापारीहरुलाई हाँस्नु न रुनु भइरहेको छ । 

सेयर बजार ओरालो लागेको लाग्यै छ । केपी ओली केहीले चलखेल गरे भनिरहेका छन् । अनि किन नगरेको त एकता ?

कहाँ भाँडियो एकताको कुरो ? 
दुई शीर्ष नेताहरु ओली र प्रचण्डबीच भेटघाटसमेत पातलो हुँदा एकता सेलाउँदै गएको छ । पार्टीभित्रका दोस्रो तहका नेताहरुमा निराशा छाउँदा पनि एकता शंकास्पद बन्दै गएको हो । 

पछिल्लो पटक मंसिर २९ गते राजधानीको एक निजी निवासमा उनीहरु आमने सामने भएका थिए । त्यसपछि बहानाबाजीमात्र भइरहेको छ । 

ओली र प्रचण्डभन्दा बढी त प्रचण्ड र एमालेका अर्का धुर्त नेता माधवकुमार नेपालबीच भेट भएको छ । यो भेटले ओलीलाई पनि अप्ठेरो पारेको छ । 

माधव नेपाल पक्षका एक नेता भन्छन्, ‘ओली कमरेडले हामीलाई कहिले पो अगाडि बढ्न दिए र ? जहिले उनी आफ्नै बाद लगाउँछन् र हामीलाई अगाडि बढ्न दिन्नन् । त्यतिमात्र होइन उनी कुनै
 निर्णयमा पुग्न हामीसंग परामर्श समेत गर्दैनन् । उहाँ हुन्जेल तानाशाह खोज्न अन्त जानै परेन ।’

उनको भनाइलाई आधार मान्ने हो भने ओली एमालेका जंगबहादुर हुन् । उनले उखान भनी भनी एमालेका थुप्रै नेता कार्यकर्तालाई ठहरै पारेका छन् । 

माधव नेपाललाई अगाडि आउन उनले कुनै हालतमा दिने छैनन् । नेपाल नै नआएपछि उनको पछि लाग्ने तमाम कार्यकर्ता कता लाग्ने ? 

यसैले पनि माधव नेपाल प्रचण्डलाई भित्राउन पाइयो भने ओली आफै ठेगान लाग्ने मनस्थितिमा रहेको बुझ्न सकिन्छ । तर प्रचण्डको बढी बोल्ने बानीले पो हैरानी पार्यो कि !

एकताका लागि अहिले एमाले र माओवादीका तेस्रो हैन चौथो तहका नेताहरु लागेका छन् । उनीहरुको प्रयास केवल दबाबका लागि मात्र हो । त्यसमाथि उठ्न सक्दैनन् । 

चुनावपछि एकता भैहाल्छ भन्नेहरु अहिले सरकार पहिले कि एकता भन्नेतिर लागेका छन् । 

प्रचण्डले चितवनमा भएको एक कार्यक्रममा सरकारको नेतृत्व र पार्टी नेतृत्व आलोपालो सिद्धान्तमा अगाडि बढ्ने बताएपछि ओलीको तालुमा पसिना चुहियो । 

ओली पनि वार्ताका लागि पछाडि हटे । माधव नेपाल नै तातेका छन् । 

यो अवस्थामा एकताका सूत्रधार एमाले उपाध्यक्ष बामदेव गौतम केही बोलेका छैनन् । उनी झट्ट मिडियामा आउन्नन् । रणनीति भने बनाइरहेका छन् । बामदेवलाई पनि चुनावमा हारेको पीडाले सताएको छ । 

सक्लान् माधवले प्रचण्ड र ओलीलाई जोड्न ? 
प्रचण्डको चुरीफुरी तोड्न र ओलीको पार्टीमा एकाधिकारबादको अन्त्य गर्नका लागि माधव नेपाल पार्टी एकताका लागि अग्रसर भएका छन् । राजा ज्ञानेन्द्रलाई दाम चढाएर प्रधानमन्त्रीको दावेदार म हुँ भनेर निवेदन कोर्ने महान् कम्युनिष्ट नेताले विना स्वार्थ पक्कै पनि यो कदम चालेका छैनन् । 

प्रचण्ड टाढिएलान् कि भन्दै उनले, ‘पहिले गरेको योगदानको कदर नगर्ने हो भने किन पार्टी एकता ?’ भन्दै प्रचण्डको पक्षमा बोले । यसले प्रचण्ड र माधवलाई नजिक ल्याएको छ । 

माधव नेपाललाई जिताउन चुनावी भाषण पनि ठोकेका थिए प्रचण्डले । त्यसको हिसाब किताब पहिलेदेखि भइरहेको स्पष्ट छ । 

ओली बाँचुन्जेल आफू अगाडि बढ्न नपाउने ज्योतिषी भविष्य देखेका नेपाललाई जसरी पनि पार्टी एकता गर्नुछ । 

एमालेकै महासचिव ईश्वर पोखरेलहरुले एकता गर्नु प्रचण्डको वाध्यता हो, केही दिनुपर्ने आवश्यकता छैन भनी भाषणबाजी गरेपछि माओवादी पनि सशंकित छ । 

माओवादीका दोस्रो दर्जाका नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन त एकताको विरोधमा छन् । 

गत असोज १७ गते भएको १७ असोजमा चुनावी गठबन्धनले दुवै दललाई प्रतिनिधिसभा र प्रदेशसभामा विजयी त बनायो तर पार्टी एकताका लागि बल भने दिन सकेन । 

के एकता होला ? अझै पनि उत्तर सजिलो छैन । दुवै दलका कार्यकर्ता विश्वस्त छन् । बस् नेताहरुलाई मात्र समस्या छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ