arrow

आमा-छोरीको किर्ते कर्तुत, ८ वर्ष देखि जेष्ट नागरिक भत्ता

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ पुष १२ बुधबार
bajhang.jpeg

बझाङ। आफ्नी आमाकै कोखबाट जन्मिएकी छोरी र आमा दुबैको जन्म मितिमा, साल, महिना र दिन एकै बनाई किर्ते कागजातहरु पेश गरी बर्षौदेखि जेष्ठ नागरिक भत्ता खाई रहेको रहस्य खुलेको छ। खप्तड छान्ना गाँउपालिका ३ सुनारगाँउ बस्ने जला सुनार र उनकी छोरी मिस्रा सुनारको किर्ते कागजातबाट २०६६ सालदेखि नियमित रुपमा जेष्ठ नागरिक भत्ता खाई रहेको भेटिएको हो।

आफ्नै जन्म दिने आमा र छोरीको जन्म मिति एकै समयमा भएको भेटिए पछि गाँउपालिका समेत हल्ली खल्ली भएको छ। आमा जला सुनारको २००८ साल चैत्र ३० गते जन्म भएको भन्ने नागरिकता छ तर उनैबाट जन्म भएकी छोरी मिस्रा सुनारको समेत २००८ साल चैत्र ३० गतेमा नै जन्म भएको भनि जेष्ठ नागरिक भत्ता लिई रहेको खप्तड छान्ना गाँउपालिका वडा ३ का अध्यक्ष मंगल सुनारले बताए।

‘२०६६ साल देखि आमा छोरीले किर्ते कागज गाबिसमा पेस गरेर सरकारले दिने जेष्ठ नागरिक भत्ता लिई रहेका रहेछन्  अध्यक्ष सुनारले भने जेष्ठ नागरिक भत्ता पाउनेहरुको अनुगमन गर्दा यस्तो भेटियो। यति मात्र होईन मिस्रा सुनारले आफ्ना भाई शंक सुनारको छोरा शिसिर सुनारको र छोरी अपेक्षा सुनारको समेत किर्ते जन्म मिती बनाएर दतिल बालबालिकाका लागी दिईने पोषण भत्ता समेत लिएको थप रहस्य समेत उजागर भएको छ।

साबिकको माझीगाँउ गाबिसमा शिशिर सुनारको २०७० साल फागुन ७ गते जन्म भएको भनि २०७१ चैत्र ८ गते जन्म भएको उनै मिस्रा सुनारले जन्म दर्ता गरेको अभिलेख छ भने छोरी अपेक्षा सुनारको समेत २०७१ जेठ ९ गते जन्म भएको भनि २०७२ साल मंसिर १२ गते जन्म दर्ता गरेको अभिलेख छ। तर ति दुबै बच्चाहरुको गाँउपालिका भएपछि वडा कार्यालयमा गएर उनै मिस्रा सुनारले गएको साउनमा पुनः जन्म दर्ता गराएको समेत भेटिएको बडा अध्यक्ष सुनारले बताए। उनले भने ‘यी बच्चाहरुको जन्म दर्ता साबिकको माझीगाँउबाट भइसकेको हो भनेर मिस्रालाई घर पठाए तर म आफ्नो कामको सिलसिलामा धनगढी गएको बेला मिस्राले आफै सुचक बसी वडा सचिबबाटै जन्म दर्ता गराएको रहेछ। बिहे गरेर श्रीमानसंग अलग भएर १५ बर्ष देखि माईती घरमा बस्दै मिस्रा सुनारको यो धन्दा देखेर स्थानीयबासी समेत चकित परेका छन्।

यसरी राज्यले दिदै आएको सेवा बर्षौं देखि यसरी दुरुपयोग भई रहदा साबिकका गाबिस र हालको गाँउपालिका समेत बेखबर भएकोप्रति स्थानियले आलोचना गरेका छन्। राज्यले उपलब्ध गराएको सेवा सुबिधा यसरी चरम रुपमा दुरुपयोग गर्नेलाई कानुनी कारबाही हुनु पर्ने स्थानियबासीको माग छ। स्थानीय डम्बर सुनारले भने ‘राज्यको सम्पती भन्नु नै हाम्रो सम्पती हो, तर राज्यकोषबाट आउने रकमलाई खुलेयाम रुपमा किर्ते कागजात बनाई दोहन गर्ने लाई कडा भन्दा कडा कानुनी कारबाही हुनु पर्दछ’। 

यसरी जेष्ठ नागरिक भत्ता र पोषण भत्तामा पनि किर्ते कागज पेस गरेको भन्ने खवर पाएको छु गाँउपालिकाका अध्यक्ष बर्क रोकायाले भने  ‘मिस्रा सुनारलाई पत्रचार गरि गाँउपालिकामा बोलाएको छु यदी उनले गलत गरेको भएमा कारबाही प्रकृया अगाडी बढाउने छु । ’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ