निधि र चिनियाँ प्रतिनिधिको अर्थपूर्ण भेट, के होला सन्देश ?
प्रकाशित २०७४ पुष १३ बिहिबार
629
Shares
काठमाडौं। गत मंगलबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिको प्रतिनिधिमण्डलबीच भेटवार्ता भयो।
यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालसँगको व्यापारका बारेमा कुराकानी गर्नुका साथै नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भाबना रहेकोले त्यसमा सहकार्य गरी अघि बढ्न आफूहरु तयार रहेको बताएका थिए। प्रतिनिधिमण्डलले नेपालमा लगानीको क्षेत्र पहिचान गरी आफूहरु त्यसमा लगानी गर्न समेत तयार रहेको उल्लेख गरेका थिए।
चिनियाँ टोलीले निधिलाई यस्तो समयमा भेटेका छन् जुन बेलामा निधि न त राज्यका कुनै पदमा छन् न त उनको पार्टी नेपाली काँग्रेसले चुनावमा सरकार बनाउन सक्नेगरी मत नै ल्याएको छ। काम चलाउ सरकार रहेको पार्टीको एक नेताको हैसियतले निधिलाई चिनियाँ प्रतिनिधि मण्डलले भेट्नुलाई अहिले अर्थपूर्ण रुपमा हेरिएको छ।
चिनियाँ उद्योग–व्यवसायीसँगको भेटमा पूर्ब उपप्रधान एवं गृहमन्त्री निधिले व्यापार व्यवसायका माध्यमबाटै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउँदै यो प्रकृयामा सरकारी अधिकारीहरुको संलग्नता हुनु पर्नेमा जोड दिए। साथै उनले नेपाल–चीन व्यापारको प्रमुख मार्ग तातोपानी नाका २०७२ को भूकम्पका कारण बन्द भएपछि व्यापार ठप्प भएको भन्दै सो नाका चाँडो खुलाउनका लागि पहल गर्न चिनियाँ उद्योगी–व्यवसायी प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराएका थिए।
नेपाली कांग्रेस भित्र भारतले अलिक बढी विश्वासगरेका नेताको रुपमा निधिलाई लिईन्छ। किनभने नेपाली कांग्रेस सत्तामा रहेको र प्रधानमन्त्री शेर बहादुर देउवासँगको निकट सम्बन्ध रहेको र पार्टीमा समेत प्रभावशाली नेता रहेकोले उनीसँग भारतले पहिलेदेखि नै हिमचिम बढाउन खोजिरहेको थियो। स्वभाविक रुपमा शक्तिराष्ट्रहरुले शक्तिशाली व्यक्तिलाई आफ्नो हातमा लिने प्रयास गर्नेगरेका छन्। त्यसमध्ये भारतले नेपाली कांग्रेसभित्रका निधिसँग निकट हुने प्रयास धेरै पहिलेदेखि नै गर्दै आएको थियो। नेपाली राजनीतिमा नेपाली कांग्रेस र माओवादी केन्द्रको सरकार गठन गर्नेदेखि भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गराउनेसम्मको काममा कांग्रेसको तर्फबाट निधिकै भूमिका अहम् थियो।
चिनियाँ प्रतिनिधि मण्डलसँग भेट्न अस्वीकार गरेकोदेखि निधिका धेरै व्यवहारले उनी चीनसँग टाढाको दूरीमा रहेको अनुमान सहजै लगाउन सकिन्थ्यो। यस अघि चिनियाँ पक्षसँग कुरै गर्न नचाहनेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा चिनियाँ पक्षको ठेक्कामा वास्तै नगर्नेसम्मको विषयले चर्चा पाउनेगरेका निधिलाई चिनियाँ पक्षले खोज्दै जानु र निधिले पनि चिनियाँ पक्षसँग भेटेर खुल्ला हृदयले कुरा गर्नुलाई महत्वपूर्ण रुपमा हेरिएको छ।
निधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं ३ बाट पराजीत उम्मेदवार हुन्। उनलाई राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पराजीत गरेका थिए। नतिजा आउने अघिल्लो दिनसम्म राजेन्द्र महतोले जित्नेमा न त निधिलाई विश्वास थियो न त अरु सारा नेपालीलाई। तर, नसोचेको परिणाम आईदियो। बलिको बोको भनेर चर्चा गरिएका महतोले नै चुनाव जितिदिएपछि निधि एकाएक छाँगाबाट खसेजस्तै भए।
चुनाव हारेपछि चिनियाँ पक्षसँगको भेटलाई एउटा निधिको भारतलाई घुक्र्याउने मेसो हो भन्ने मत पनि आउन थालेको छ। निर्वाचनमा राजपा नेपालका उम्मेदवार राजेन्द्र महतोलाई व्यवस्थापन गर्न नसक्दा आफू पराजीत भएपछि निधि अहिले चिन्तित छन्। आफू जित्नको लागि उपेन्द्र यादव र महन्थ ठाकुरको क्षेत्रमा कांग्रेस उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न लगाएका निधिले निर्वाचनमा पराजीत भएपछि उनी अर्का छिमेकी मुलक चीनसँग पनि सहकार्य अगाडि बढ्ने पक्षमा देखिएका छन्। अर्को तर्फ नेपालको तराई क्षेत्रमा प्रभाव बढाउने अभियानमा रहेको चिनियाँ पक्षले आफ्नो यही रणनीति अनुरुप नै प्रदेश नं २ का प्रभावशाली नेताको रुपमा रहेका निधिलाई फकाउन चुनाव हारेपछि पनि महत्व दिएको हुनसक्ने अर्को पक्षको मत छ। यस भित्रको अन्तर्य कुरा जे जस्तो भएपनि निधि र चिनियाँ पक्षबीचको यो भेटलाई भने महत्वका साथ हेरिएको छ। यो भेटले बोकेको सन्देश भने निकट भविष्यमा नै देखिने नै छ।
अहिले महेन्द्र पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नती गर्ने, कमला डाईभर्सन, निजगढ विमानस्थल, कपिलबस्तु लगायतका क्षेत्रमा चिनियाँ पक्ष आफ्नो सक्रिय रुपमा उपस्थिती जनाउन अलिक बढी नै संवेदनशील छन्। यी सबै काम गर्नको लागि चीनले प्रदेश नं २ मा एउटा सशक्त साझेदार खोजीरहेको छ। प्रदेश नं २ मा चुनावमा पराजीत भएपनि प्रभावशाली नेताका रुपमा रहेका निधिलाई सँगै लिएर जान नै चीनले यो रणनीति तय गरेको हुनसक्ने आशंका पनि गरिएको छ। प्रदेश नं २ मा कांग्रेसको उपस्थिती बलियो रहेकोले पनि उनी चीनको महत्वमा परेको हुनसक्छ।