महेन्द्रनगर । चुरे क्षेत्रमा बर्सेनि हुनेगरेको भ-स्वखलन अर्थात पहिरो नियन्त्रणका लागी जिल्ला वन कार्यालयले पहिलो पटक कञ्चनपुरमा परिक्षण गरेको स्थानीय जैविक सामाग्रीको प्रयोग गरी निर्माण गरेको बाँसको बाँध सफल देखिएको छ । चुरे क्षेत्रको संरक्षणका लागी सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका ७ र ८ स्थित खन्या खोलामा परिक्षणका लागि ५३३ मीटर बाँसको छेक बाँध निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०६७ /०६८ देखि नेपालमा लागू भएको राष्टपति चुरे संरक्षण कार्यक्रम अनुसार चुरे क्षेत्रको संरक्षण गरिदै आए पनि जैविक स्थानीय सामाग्रीको प्रयोग गरि भु-क्षय पहिरो नियन्त्रणको प्रयास पहिलो पटक गरिएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा स्थानिय श्रोत साधनको प्रयोग गरि भुक्षय नियन्त्रणमा चालिएको कार्यक्रम र योजना बाट भु-क्षय,पहिरो ७० प्रतिशत नियन्त्रण भएको जिल्ला वन कार्यालयका प्रमुख जिल्ला वन अधिकृत शिव प्रसाद शर्माले बताए ।
चुरे संरक्षणका लागि वन कार्यालयले वन क्षेत्रमा हुनेगरेको चरिचरण रोक्न तारबार र विभिन्न जातका बिरुवा रोप्ने कार्य गरिएको वन अधिकृत शर्माले बताए । भु-क्षय पहिरोको उच्च जोखिममा रहेको जिल्लाको उत्तरी भेग स्थित खन्याखोलाको संरक्षणमा बासको बाँध निर्माण र बाँसको जरा,बेत,अम्रिसो,नेपियर, बदामे घाँस र बेसर्मा रोपिएको हो । चुरे क्षेत्रमा भइ रहेको भु-क्षय रोक्न महंगो प्रबिधि भन्दा स्थानिय श्रोत साधन प्रयोग गरेर प्रभावकारी र सार्थक काम गर्न सकिने खन्या खोलामा बनाइएको बाँसको बाँधले पुष्टि गरेको छ ।
वन पैदावरको चोरी निकासी नियन्त्रण ,खन्याखोला र यस वरपरका सहायक खोला खोल्साहरुको संरक्षण गरि वन पैदावरको पुनरउत्पादनमा वृद्धि गराउन तारबार र बाँसको बाँध सफल बनेको छ । तराईका समथर भुमिमा बिगत केही वर्ष यता हुँदै आएको बाढीको प्रकोप नियन्त्रण ,कटान र नदी तथा खोलाहरुको सतहको चौडाई हरेक वर्ष बढ्ने समस्याको दिगो ब्यबस्थापनका निम्ति पनि चुरे क्षेत्रको संरक्षण अति आबश्यक रहेको जानकारहरु बताउछन् ।
गत आर्थिक वर्षमा चुरे तथा नदि,खोला संरक्षणका लागि कञ्चनपुरका उत्तरी भेगमा गरिएका प्रयासहरुको निरन्तरता हुन सके मानव बस्ती र समथल भुमी सुरक्षित हुने स्थानीयहरु बताउछन् । अनियंत्रित चरीचरन,वन पैदावरको अत्यधिक प्रयोग,वनक्षेत्रको अतिक्रमण ,चुरे क्षेत्रमा खनन,नदी तथा खोलाहरुबाट अबैज्ञानिक रुपले माटो,बालुवा,ढुंगा इत्यादि निकाल्ने कारण बर्सेनि समथरका जनताले प्राकृतिक बिपदको मार खेप्दै आएकाछन ।