काठमाडौं। पुष १५को दिउँसो वत्तिसपुतलीको एक पार्टी प्यालेसमा नेविसंघले गरेको कार्यक्रममा कार्यक्रम सञ्चालकले मन्तव्यका लागि पार्टीका बरिष्ठ नेतालाई निम्ता गरे। नेपाली काँग्रेसले दुई कार्यकालदेखि पार्टी महाधिवेशनमा सभापतिमा पराजित भएकालाई दिने पद जस्तो भएको छ बरिष्ठ नेताको पदवी। पार्टीको पदाधिकारीमा बस्न नपाउँने र सभापति हुन नसकेका व्यक्ति वरिष्ठ नेताका रुपमा काँग्रेसमा देखिन थालेको करिव एक दशक भएको छ। काँग्रेसका वर्तमान सभापति शेर बहादुर देउवा यसअघी वरिष्ठ थिए जतिखेर शुसिल कोइराला पार्टी सभापति थिए। अहिले देउवा पार्टी सभापति हुँदा रामचन्द्र पौडेल वरिष्ठ नेता छन्।
पार्टीमा हुर्कदै आएको यो अभ्यास भन्दा फरक रुपमा वत्तिसपुतलीमा उद्घोषकले पार्टीका वरिष्ठ नेता भन्दै सम्वोधनका लागि एक केन्द्रीय सदस्यलाई निम्ता गरे। मञ्चमा हिजोका वरिष्ठ नेता देउवा पनि थिएनन आजका वरिष्ठ पौडेल पनि थिएनन। थिए त नेविसंघमा काम गरिसकेका पूर्व अध्यक्ष, महामन्त्री र केहि अन्य नेताहरु। तिनै नेताका बीचबाट पूर्व महामन्त्री चन्द्र भण्डारी मञ्चमा गएर सम्वोधन गर्न थाले। वीपीले मेलमिलाप नीति लिएर नेपाल फर्केपछिको दिनको सम्झनामा गरिएको कार्यक्रममा नेपाली काँग्रेसको जागरणको मुद्धामा भण्डारी सहितका नेताहरु विमर्शका लागि त्यहाँ जम्मा भएका थिए।
वरिष्ठ नेताका रुपमा बोलाइएका उनले सबै माझ आफ्ना कुरा राखिरहेका थिए। हलमा भएका सबै उनको कुरामा ध्यान दिइरहेका पनि थिए। सँगै मञ्चमा रहेका उनलाई वोल्न वोलाउनु अघी गरिएको वरिष्ठ नेताको सम्वोधन भने कतिको लागि कौतुहलको विषय थियो। चन्द्र भण्डारीलाई वरिष्ठ भनेर वोलाएका कार्यक्रम सञ्चालकले त्यहाँ रहेका अन्य नेतालाई प्रभावशाली नेता भन्दै मञ्चमा वोलाइरहेका थिए। यि शब्द प्रत्येक पटक प्रयोग हुँदा त्यहाँ हलमा रहेकाहरुले भने ताली पड्काइरहेका हुन्थे।
कसरी शुरु भयो बरिष्ठ र प्रभावशालीको सिलसिला ?
कार्यक्रममा अधिकांश नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु निम्त्याइएका थिए। प्रजातन्त्र पूनर्स्थापना पछि नेविसंघको केन्द्रीय नेतृत्वमा आएका पूर्व अध्यक्ष र पूर्व महामन्त्रीहरु अतिथिका रुपमा निम्त्याइएका थिए। त्यसै मध्येका थिए चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, प्रदिप पौडेल, उमेशजंग रायमाझी। प्रजात्नत्र पूनर्स्थापना पछि बनेका नेविसंघका नेताहरुमा भण्डारी वरिष्ठ हुन। पटक पटक केन्द्रीय सदस्य भइसकेा उनी सांसद पनि भए। मन्त्री बन्न भने नपाएका उनी काँग्रेसभित्रको यूवा पुस्तामा प्रभावशाली मानिन्छन। संगठन भित्र प्रभाव राखेपनि निर्णायक तहमा प्रभाव राख्न नसक्दा उनी पछि परेका आम कार्यकर्ता तहमा बुझाइ छ। त्यस्तै अरु कतिपय नेता पनि संगठनमा प्रभाव राख्दा राख्दै पछि परेको अनुभुति धेरैको छ।
यो चेत रहँदा रहँदै पनि वाहिर प्रकट हुन नसकेको कुरालाई काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सो कार्यक्रममा प्रकट गरे। उनले चन्द्र भण्डारीको ढल्कदो उमेर र फुलेको कपाल देखाउँदै भने हामी अझै चन्द्र दाईलाई कति यूवा नेता भन्ने? उहाँ अब यूवा नेता हैन पार्टीको वरिष्ठ नेता हो। मञ्चमा रहेका सबैलाई देखाउँदै थापाले भने पार्टी संगठनमा आफ्नो प्रभाव देखाउँदै यहाँसम्म आइपुग्नुभएका सबै प्रभावशाली नेता हो। यो प्रभावशालीको नाममा केहिले गरिरहेको राजलाई तोड्न जरुरी छ । अबदेखि उहाँहरुसँग जोडिने बिशेषण प्रभावशाली हो र हुनुपर्छ। थापाले यो कुरा राख्न नपाउँदै हलले नै त्यसको अनुमोदन ताली पड्काएर गर्यो। थापाको प्रस्तावमा मञ्चमा रहेकाहरुले पनि मुस्कान सहित अनुमोदन गरे।
अन्य राजनीतिक कुरा सहितको आफ्नो मन्तव्य सकाएर फर्किएपछि कार्यक्रम सञ्चालकले थापाको प्रस्ताव उनैमाथि प्रयोग गरे। धन्यवाद काँग्रेसका प्रभावशाली नेता गगन थापा भनेर। हलले त्यसलाई स्विकारोक्तिमा ताली पड्काएर अनुमोदन गर्यो। करिव हजार जना सहभागि कार्यक्रममा यो नयाँ प्रस्तावले नयाँ किसिमले तरंगित गरेको थियो।
त्यसपछिका सबै वक्ताहरुको विशेषणमा प्रभावशालीको फुर्को झुण्डिन थाल्यो। प्रभावशाली नेताहरु गगन थापा, गुरु घिमिरे, प्रदिप पौडेल, उमेशजंग रायमाझीले पार्टी संगठनका अतिरिक्त समसामयिक विषयमा पनि चर्चा गरे। संगठनको जागरणको विषयमा चिन्तन गरे। कार्यकर्ताहरुलाई हौस्याए।
यो चिन्तनमा पार्टीमा नयाँ मतदाता र कार्यकर्ताको प्रवेशलाई कसरी सुनिश्चित गर्ने भन्ने थियो। अबको पाँच बर्षपछि कम्तिमा १७ देखि २० लाख नयाँ मतदातालाई कसरी पार्टीमा ल्याउने चुनौती सबैले मिलेर पुरा गर्ने भन्ने थियो। यसका लागि अहिलेको सोच्ने र काम गर्ने शैलीलाई परिवर्तन गर्दै जाने भन्ने सार सबैको अभिव्यक्तिमा थियो। तर यो सारलाई कसरी पार्टीका पुराना र नयाँ प्रभावशाली नेताहरुले लिएर जान्छन त्यसमा काँग्रेसको जागरण वास्तविक रुपमा देखिनेछ।