लमजुङका काँग्रेस कार्यकर्ताले मागे नेतृत्वको सामूहिक राजीनामा
प्रकाशित २०७४ पुष १६ आइतबार
602
Shares
बेसीशहर । काँग्रेस लमजुङका नेता कार्यकर्ताले वीपीले देखाएको बाटो समात्दै काँग्रेसको पुर्नजागरणको विकल्प नरहेको बताएका छन । ४२औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा वपी चिन्तन प्रतिष्ठान जिल्ला कार्य समितिले वेसीशहरमा आयोजना गरेको नेपाली काँग्रेसको पुर्नजागरण र वीपी कोइरालाको मेलमिलाप नीतिको सान्दर्भिकताबारेको विचार गोष्ठीमा बोल्दै काँग्रेस लमजुङका नेताहरुले यसो भनेका हुन् ।
‘अब काँग्रेसलाई नयाँ गति र नयाँ ढंगबाट अगाडि बढाउन आवश्यक छ, जिल्ला सभापति भेषबहादुर पौडेलले भने, ‘विगतका गल्ती र कमजोरीलाई समिक्षा गरेर गल्ती र कमजोरीलाई सुधार्दै अगाडि बढ्नु पर्दछ ।’
पूर्व सभापति कृष्णप्रसाल कोइरालाले काँग्रेसले निर्वाचनमा पराजय व्यहोरेपनि काँग्रेसले वकालत गर्दै आएको लोकतन्त्रले जितेको भन्दै कोही नेता तथा कार्यकर्तालाई निरुत्साहित नहुन आग्रह गरे ।
महासमिति सदस्य टकराज गुरुङले पार्टीमा ‘भय’ र ‘भरोसा’ हराउँदै गएको र पार्टी केन्द्रदेखि गाउँसम्म पद्धतिमा चल्न नसकेको आरोप लगाए ।
काँग्रेसका पूर्व जिल्ला सदस्य शम्भुबहादुर जोशीले स्थानीय एवं प्रदेशसभा र प्रतिनिधिसभामा काँग्रेसकाले व्यहोरेको लज्जास्पद हारको नैतिक जिम्मेवारी लिँदै नेतृत्वले सामुहिक राजीनामा दिनु पर्ने माग गरे । ‘उनले काँग्रेसको संगठनलाई बन्दक बनाएर राख्ने अधिकार कसैलाई नभएको भन्दै राजीनामा दिएर पार्टी पुर्नजागरणको बहसलाई थप मजबुद बनाउन आवश्यक रहेको बताए ।