arrow

आरोप प्रत्यारोपभन्दा एकता आवश्यकः महामन्त्री कोइराला

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
sasanka-pokhara-nc.jpg

पोखरा। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसमा एक अर्कामा आरोप प्रत्यारोपभन्दा पनि एकता आवश्यक रहेको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस, कास्कीद्वारा आयोजित कार्यक्रममा उनले सम्पन्न निर्वाचनमा गणितीय रुपमा हार जस्तो देखिए पनि हारको मनस्थितिमा रहनु आवश्यक नभएको बताए।

निर्वाचन लगायतका विषयमा पार्टी केन्द्रले चाँडै नै समीक्षा गर्ने बताउँदै उनले आगामी दिनमा पार्टीलाई कुन रुपमा अघि बढाउने लगायतका विषयमा छलफल गरिने उल्लेख गरे। “पार्टीभित्र सभापतिलाई मात्र दोष दिएर हुँदैन, सर्वप्रथम आफूलाई नै हेरौँ,” उनले भने, “टिकट वितरणलगायतका धेरै कुरामा त्रुटि भएका छन्, यी सबै त्रुटि आगामी दिनमा सच्याएर अघि बढ्नु आवश्यक छ।”

कांग्रेसले आगामी दिनमा सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै महामन्त्री कोइरालाले पार्टी संगठनलाई सुदृढ र एकताबद्ध गराएमा मात्र बिपीप्रति सच्चा सम्मान हुने उल्लेख गरे। कांग्रेसका नेता खेमराज पौडेलले राष्ट्रियता एवं राष्ट्रको हितलाई सर्वोपरी राख्दै २०३३ सालमा बिपीले लिएको मेलमिलाप नीति वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए। आगामी दिनमा कम्युनिष्टको चियोचर्चो भन्दा पनि कसरी पार्टी संगठनलाई कसरी राम्रो बनाउने हो त्यसतर्फ ध्यान दिनु आवश्यक रहेकोमा उनले जोड दिए। प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए।

नेपाली कांग्रेस, कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, पूर्वसांसद शारदा पौडेल, सचिव रामराज लामिछाने, महाधिवेशन प्रतिनिधि देवराज चालिसेलगायतले विपीका विचार र आदर्शबाट पार्टी विचलित बन्दै गएको बताउँदै आगामी दिनमा पार्टीलाई अझै एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नभएकोमा जोड दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ