दुर्घटनामा परी २९ वर्षे युवतीको गयो ज्यान, ४ घाइते
प्रकाशित २०७४ पुष १८ मंगलबार
244
Shares
दमौली । कारले ठक्कर दिँदा पैदल यात्रु एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नपा–१३ वेनीकोटकी २९ वर्षीया हरिमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ ब्यास नगरपालिका–४ स्थित पृथ्वीराजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएकी आलेको मेट्रोसिटी अस्पताल पोखरामा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
दमौलीस्थित नेशनल एपोलो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई पोखरा लगिएको थियो ।
बिहान हुस्सु लागेका बेला तीव्र गतिमा गुडेको वा९च ४४४३ नंको कारले पैदल यात्रुलाई ठक्कर दिई विपरीत दिशामा गइ पोखराबाट सुनौली जाँदै गरेको ना६ख ७२११ नंको बसमा ठोक्किँदा चारजना घाइते भएका छन् ।
घाइते हुनेमा पैदल यात्रु धादिङ जिल्लाका ३३ वर्षीय श्यामप्रसाद रेग्मी, व्यास नपा–१४ वेलवासका ९ वर्षीय गुरास आले तथा कार चालक काठमाडाँै महानगरपालिका बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ छन् । उनीहरुको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
कार चालक श्रेष्ठ भने उपचार हुँदाहुँदै फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बस चालकलाई भने नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।