प्रचण्डले कुरा खोले–‘मलाई कार्यकारी पद दिनेमा विवाद छैन, औपचारिकता दिन मात्रै बाँकी छ’
प्रकाशित २०७४ पुष १९ बुधबार
295
Shares
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुलाई दुई कार्यकारी मध्ये आफुलाई एक पद दिने सहमति भइसकेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारसँग अध्यक्ष दाहालले घुमाउरो भाषामा भने, ‘पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ । त्यसमा दुई नेता कार्यकारी भूमिकामा हुनुपर्छ भन्नेमा कुनै विवाद छैन । खाली औपचारिकता दिन मात्रै बाँकी छ ।’
अध्यक्ष दाहालले घुमाउरो भाषामा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुई कार्यकारी पदमा दुवै नेता रहने बताए । उनले ओली प्रधानमन्त्री भए आफु पार्टी अध्यक्ष रहने संकेत गरेका हुन् ।
उनले आफुले प्रधानमन्त्री हुने कुरा नसोचेको बताए । उनले भने, ‘प्रधानमन्त्री बन्ने कुरा मैले सोचेको छैन । अहिले हामीले वाम गठबन्धन बनाएर निर्वाचन लड्यौँ । पार्टी एकताको संकल्प गरेर चुनाव गर्यौँ । जनताको अनुमोदन पनि त्यसैका लागि भएको हुनाले मैले अहिले गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।’ यद्यपि, गठबन्धनभित्रैबाट कुनै एक कार्यकारी पद पाउनेमा सहमति भइसकेको उनले बताए ।
दाहालले पार्टी एकताको छलफल चलिरहेको र प्राविधिक कारणले रोकिएको बैठक एक दुई दिनमै बसेर ठोस निर्णय गर्ने बताए । सरकार गठन कानुनी व्यवस्थाका कारण ढिलाई भएको बताउँदै दाहालले राष्ट्रिय सभाको निर्वाचनको तयारी अघि बढिसकेकाले अब कुनै बाधा नरहने समेत बताए ।