arrow

पुरानो बसपार्कको टहरासँगै भत्कियो महानगरका कर्मचारीको लाखौंको धन्दा

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
puranobuspark_-_Copy.jpg

काठमाडौं । बुधबार दिउँसो एकाएक महानगरप्रहरीको जमात पुरानो बसपार्कमा देखियो । यस अघि खचाखच हुने पुरानो बसपार्कको तहरामा बुधबार एक जना पनि व्यापारीहरु बसेका थिएनन् । 

बीर अस्पतालको साईटपट्टीबाट प्रवेश गरेका महानगरप्रहरीले झण्डै डेढ घण्टा लगाएर त्यो संरचना भत्काएका थिए । यसमा त्यो जस्ताको टहरामात्रै भत्किएको थिएन । महानगरपालिकाका सीमित कर्मचारीको अबैध धन्दा समेत भत्किएको थियो । यस अघिसम्म मासिक लाखौं रुपैयाँ असुल गरिएको सो टहरामा महानगरप्रहरीले पाईला चालेसँगै लाखौंको अबैध धन्दाको स्रोत समेत त्यसै सुकेको थियो । 

अहिलेसम्म लाखौं असुलीसकेका काठमाडौैं महानगरपालिकाका कर्मचारीको यो अबैध धन्दाको विषयमा हाम्रा कुरा डटकमले पटक पटक समाचार प्रकाशित गरिरहेको थियो । हाम्राकुरामा समाचार आउन थालेपछि बागबजार स्थित केही युवाहरुले यहाँको अबैध धन्दाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेका थिए । 

अख्तियारमा मुद्दा परेपछि अख्तियारले केही कर्मचारीहरुलाई बयानको लागि समेत बोलाएको महानगरपालिका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारले कारबाही गर्नेदेखेपछि अहिलेसम्म असुली गर्दै आएका कर्मचारीहरुकै निर्देशनमा सो टहरा भत्काईएको हो ।

कसरी हुन्थ्यो असुली ?
काठमाडौं महानगरपालिकाको सम्पत्तिमा महानगरपालिकाका केही कर्मचारीहरुको मिलेमतोमा खुलेहाम पुरानो बसपार्कमा अबैध धन्दा चलिरहेको थियो । यात्रु प्रतिक्षालयको रुपमा बनाईएको पुरानो बसपार्कको सो टहरामा ४५ जना व्यापारीहरु व्यवसाय गर्दै आएका थिए । यसरी बसेका फलफुल र कपडा व्यवसायीहरुबाट महानगरका कर्मचारीहरुले मासिक जनही ६ हजारको दरमा मासिक भाडा उठाईँदै आईएको थियो । 

महानगरपालिकासँगको सम्झौता अनुसार एउटा होटल, दुईवटा शौचालय र एउटा औषधि पसल सञ्चालन गर्न पाउनेमा अहिले स्थायी रुपमा एउटा भोजनालय, ३ वटा मझौता प्रकृतिका खाजा पसल, एउटा किराना सहित कूल ६ वटा पसल र एउटा शौचालय महानगरपालिकाको नजरमा बैध पसल हुन् । तर, ती बैध पसलहरुले पनि १९ महिनादेखि महानगरपालिकालाई तिर्नुपर्ने कर तिरेका छैनन् । 

पैसा तिरेर पनि अबैध पुरानो बसपार्कका यी व्यवसायीहरु

त्यस भन्दा बाहिर रहेका खुल्ला व्यवसायीहरुबाट उठाईने जनही ६ हजार र त्यहाँ भित्र रहेका ११ चिया पसलको दैनिक १०० का दरमा उठाईएको रकम जोड्दा कूल मासिक ५ लाख रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म अबैध रकम उठाईने गरिएको थियो । यसरी बसेका व्यवसायीहरुलाई प्रकाश भेटुवाल नामका व्यक्तिले पैसा संकलन गरेर महानगरप्रहरीका डिएसपी विष्णु जोशीको माध्यमबाट प्रशासन प्रमुख ज्ञानेन्द्र कुमार कार्की हुँदै मेयर विद्यासुन्दर शाक्यसम्म पुग्ने गरेको आरोप अख्तियारमा दायर गरिएको मुद्दामा उल्लेख गरिएको छ । 

सो विषयमा मुद्दा परेपछि बुधबार १ बजेतिर आएका महानगर प्रहरीको टोलीले सो टहरा भत्काईदिएको थियो । यससँगै महानगरपालिकाका सीमित कर्मचारीहरुले असुल्दै आएको धन्दामा केही दिनको लागि ब्रेक लागेको छ । पछि उनीहरुले कुनै न कुनै बाहानामा फेरि यस्ता व्यवसाय सञ्चालन नगर्लान् भन्न सक्ने अवस्था भने देखिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ