काठमाडौं। सत्ता हस्तान्तरणसँगै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड मध्य एक एकिकृत पार्टीको अध्यक्ष र एक प्रधानमन्त्री बन्ने गृहकार्य एमाले र माओवादीमा छ।
दुवै पद एक्लै राख्ने एमाले अध्यक्ष ओलीको योजना सफल हुने नदेखिरहँदा उनलाई नै एकिकृत पार्टीमा सबै मिलेर किनारामा पार्छनकी भन्ने चिन्ता ओलीको रणनीतिकारहरुको छ। यसकारण पनि अहिले एमालेका नेताहरुमा वेमौसमी राग अलाप्ने काम शुरु भएको छ। केपी ओली निकट र माधव नेपाल निकटहरु एक अर्कालाई खुइल्याउन लागिपरेका छन्।
पार्टी एकताका लागि मत मागेर सुविधाजनक वहुमतमा पुगेका केपी ओली र प्रचण्ड एक अर्काको साथ लिएर पार्टीलाई नेतृत्व दिन चाहन्छन तर कसले नेतृत्व लिने र कसले साथ दिने भनेर टुङगो गर्न सकेका छैनन।
पदका लागि धेरै लोभ देखाउन सक्ने अवस्थामा दुवै दलका मूल नेतृत्व छैनन न त आफ्नो हुँदाखाँदाको पद छोडेर धेरै उदार नै बन्न सक्ने अवस्थामा छन्। यो अवस्थामा आफूले भन्दा अरुलाई खेल्न लगाउने रणनीतिमा दुवै दलका नेताहरु छन्। यस खेलमा एमाले अध्यक्षले महासचिव इश्वर पोखरेल लगायतका एमाले नेताहरुबाट गरेका छन् भने प्रचण्डले पार्टी र पार्टी वाहिरका आफ्ना शुभेच्छुकहरुबाट पनि खेलेका छन्।
यी सबै घटनालाई राम्ररी नियालिरहेको काँग्रेस बेलामौकामा वल्छी हान्ने गर्दै आएको छ। त्यो कुरा स्वयं प्रचण्डले उजागर गर्दै आइरहेका छन्। आफूलाई प्रधानमन्त्रीमा काँग्रेसले विनाशर्त समर्थन गर्ने कुरा गरेको उनले पटकपटक दोहोर्याएका छन्। तर आफू वाम एकताको पक्षमा रहेको सन्देश पनि उनले दिइरहेका छन्। यसको अर्थ उनी अझै पनि सम्मानजनक रुपमा एक कार्यकारी भूमिका लिएर पार्टी एकता गर्न नै चाहिरहेका छन् भन्ने देखिन्छ। तर जतिसुकै लचकता देखाउँदा पनि ओलीले नमानेको अवस्थामा भने उनले विकल्पहरु खोज्न सक्छन माओवादीकै नेताहरु बताउँछन्। यस्तो अवस्थामा काँग्रेसको प्रस्ताव उनका लागि प्रियकर हुनसक्छ।
माओवादीलाई काँग्रेसको विनाशर्तको समर्थन
काँग्रेसले आफ्नो समर्थनमा माओवादीलाई विनाशर्त सरकारको नेतृत्व गर्ने प्रस्ताव गरेको स्वयं प्रचण्डले बताएका छन्। यो अवस्थामा प्रचण्डले आँट मात्र नगरेका हुन। मधेशी दलहरु समेत सरकारमा गए पनि माओवादी र मधेशी गठवन्धनलाई समर्थन गरि काँग्रेस सत्ताबाट वाहिरै रहन सक्छ। यो अवस्थामा उसले राष्ट्रपति, प्रधानमन्त्री सभामुख लगायतका पदहरुमा कहि कतै दावी नगर्ने प्रस्ताव काँग्रेसले माओवादीलाई गरेको बताइन्छ। तर प्रचण्ड अझै के गर्ने भन्ने द्विविधामै रहेका छन्। अझै निर्णय गर्न सकिरहेका छैनन।
माधव नेपालले आँट गर्लान?
काँग्रेसका नेताहरुले बेलावखत प्रचण्डकै कुरामा मेल खानेगरि वाम गठवन्धन तोड्ने रणनीतिका कुरा गर्दै आएका छन्। तर ओपन सेक्रेट यस्ता कुराको कत्तिको अर्थ रहला धेरैको चासोकै विषय हो। तर प्रचण्डले केपी ओलीसँग खुट्टा कमाए एमालेभित्रकै केपी पिडित नेताहरु एक ठाउँमा आएर ओलीलाई रक्षात्मक बनाउन सक्ने आँकलन पनि गरिदैछ। यद्यपी यो खतरा मोल्न माधव नेपाल, झलनाथ र वामदेव गौतमहरु कत्तिको तयार हुन्छन प्रतिक्षाकै विषय हो।
माधव नेपाल, झलनाथ र वामदेव गौतम तयार भएमा अर्को नयाँ समिकरण बन्न सक्ने सम्भावना रहेको छ। यसो हुन सकेमा माधव नेपाललाई प्रधानमन्त्री, झलनाथ खनाललाई राष्ट्रपति र वामदेवलाई कुनै एक स्थानबाट सांसद बनाउने सम्मको तयारी हुनसक्छ। यो अवस्थामा काँग्रेसले यो समुहलाई सरकारमा नगइ वाहिरैबाट समर्थन जनाउन सक्छ। एमालेकै प्रधानमन्त्री हुँदा माओवादीको समर्थन लिएर एमालेकै अर्का प्रधानमन्त्री भएको इतिहासलाई सम्झनेहरु यो नयाँ सम्भावनालाई नकार्दैनन।
काँग्रेस लगायतका अन्य दलले समर्थन गरेको अवस्थामा पार्टीका आफू निकटहरुलाई लिएर वहुमत पुर्याउन सक्ने अवस्था बन्दा माधव नेपालले खनाल र गौतमलाई यो कुरामा सहमत गराउन सक्छन। यद्यपी यो अवस्थामा एमालेका त्रय नेताहरु कैयन चुनौतीबाट गुज्रनु पर्ने हुन्छ।
चुनौतीलाई पार लगाए भने ३ मध्ये एकले राष्ट्रपति, एकले प्रधानमन्त्री र एकले सांसद हुने अवसर फेरि पाउनेछन्। तर के यसका लागि नेपाल सहितका नेताहरुले कत्तिको आँट गर्छन त? धेरै एमालेका कार्यकर्ताहरु भन्छन केपीको अगाडी अहिले अधिकांश एमालेका नेता कार्यकर्ताहरुको सातो गएको छ। यो अवस्थामा उनीहरुले यो चुनौतीको सामना गर्लान भन्नु अतिशयोक्ति मात्र हुन्छ।