सर्वदलीय बैठक सुरुः राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र राजधानीमा सहमति
प्रकाशित २०७४ पुष २० बिहिबार
204
Shares
काठमाडौँ । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न सर्वदलीय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी छन् ।
बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा देउवा सरकार रहेको छ ।
निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो ।
पछिल्लो समय बामगठबन्धनले प्रदेश प्रमुखमा काँग्रेससंग भीडन्तको नीतिमा केही लचकपन देखाएको बताइन्छ ।
तर कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।
कानुनअनुसार निर्वाचन परिणाम क्रमशः प्रदेशको प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ ।
निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन् ।
उनको प्रयासले कत्तिको सार्थक रुप लिने हो त्यो भने हेर्न बाँकी छ ।
अस्थायी प्रदेशको राजधानीको तयारीलाई लिएर प्रदेश नम्बर १, ५ र ७ मा असन्तुष्टि मच्चिएको छ । प्रदेश ७ र १ मा आमहड्ताल नै चलिरहेको छ ।