arrow

ओलीले राजनीतिक इमान्दारिता देखाउदै भद्र सहमति अनुसार प्रचण्डलाई 'स्पेस' देलान् त ?

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
oli-prachnd.jpg

काठमाडौं । अहिले बाम गठबन्धनको बाहिर जे जति चर्चा आएपनि पदीय भागबण्डा नमिल्दा एकीकरणको कुनैपनि प्रक्रिया नै सुरु भएका छैनन् । अहिले बाहिर देखाउनको लागि जे आदर्शका कुरा गरेपनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दुबैजना सत्ताको खेलकै लागि मरिहत्ये गर्ने स्वभावका हुन् भन्ने कुरा पछिल्लो राजनीतिक घटनाक्रमले पनि देखाएको छ । यस्तो अवस्थामा राजनीतिक सिद्धान्त भनेको दलहरुलाई चुनावी नारा बोकेर जनतासम्म पुग्नको लागि र पार्टीको विधान लामो बनाउनको लागि मात्रै हो ।

अहिलेको घटनाक्रम पनि यही पेरिफेरिमा घुमिरहेको छ । अन्य नेताहरुको उक्साहटको कारण केपी ओलीलाई दुबै पद आफैं चाहिने र माओवादी अध्यक्ष दाहाल चुनाव अगाडि भएको भद्र सहमति अनुसार पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये  एक पद नभएसम्म कुनैपनि हालतमा सहमतिमा नपुग्न मओवादी पार्टीका शिर्ष नेताले सुझाउदै आएका छन् । अझ माओवादीका कतिपय नेताहरुले एमाले भित्र माओवादी विलय हुने भन्दा पनि सम्मानजनक एकता हुनु पर्नेमा सार्वजनिक रुपमा बताउदै आएका छन् । एमालेले पनि जनताको बहुदलीय जनवाद नछोड्ने र मओवादीले समेत माक्सवाद र माओवाद नमान्ने हुदाँ सैद्धान्तिक रुपमा समेत एकता हुन सहज देखिदैन ।  यही अडान र विवादका कारण एमालेभित्रै चरम असन्तुष्टि देखिएको छ भने माओवादीसँगको सम्भावित एकता प्रक्रिया तुहिने सम्भावना बढेको छ । अझ पहिलो, दोस्रो , तेस्रो तथा स्थानीय तहसम्मका नेताहरुको व्यवस्थापन गर्न दुवै पार्टीहरुलाई फलामको चिउरा चपाउनु सरह हुनेछ ।     

जनतालाई देखाउनको लागि संयुक्त पत्रकार सम्मेलन गर्ने र एकले अर्कालाई भेटेर सहमति गरेको बताउने गरेको भएपनि पार्टीभित्रको भागवण्डाको कुरा नमिल्दा ओलीको सत्तारोहणमा समेत शंका उपशंका गर्न थालिएको छ । ओली आफैंले पनि केही दिन अघि आफूलाई सरकारमा जान नदिनको लागि व्यापक चलखेल भएको गुनासो गरेका थिए । ओली फोरमसँग मिलेर सरकार बनाउन लागि परेको माओवादीका नेताहरुले भन्दै आएका छन् भने एमालेका नेताहरुले प्रचण्ड कांग्रेसको चक्रव्युहमा फसेर एमालेलाई धोका दिन लागेको निकटस्तहरुसँग बताउन थालेका छन् ।   

विगतमा एमालेभित्र हेर्दा समेत अघिल्लो संविधानसभामा पार्टी र संसदीय दल दुवैको नेतृत्व झलनाथ खनालले गरेको अवस्थालाई केन्द्रमा राखेर दोस्रो संविधान सभाको संसदीय दलको नेता चयन गर्ने समयमा केपी ओलीले नै एक व्यक्ति एक पदको अवधारणा ल्याएका थिए ।

संसदीय दलको निर्वाचनमा ओलीले उठाएको एक व्यक्ति, एक पदको मुद्दालाई त्यसपछि भएको महाधिवेशनमा सम्बोधन गर्ने प्रयास पनि गरिएको हो । त्यतिबेला त्यस्तो प्रस्ताव राख्ने ओली राजनीतिक रुपमा ईमान्दार थिए भने त्यतिबेला बामदेव गौतमसँग भएको भनिएको सहमति अनुसार गौतम संसदीय दलको नेता हुनु पर्ने हो । तर ओलीले त्यो ईमान्दारिता देखाउन सकेनन् । ओली २०७२ सालमा प्रधानमन्त्री सहित अध्यक्ष समेत बनिसकेका छन् ।

अहिले राजनीतिक रुपमा केपी ओली आफ्नै पार्टी भित्रबाट असुरक्षित भईरहेको बेलामा पार्टी वरिष्ठ नेता झलनाथ खनालले २०७० सालको चुनावपछि ओलीले एक पद, एक व्यक्तिको प्रस्ताव राखेको स्मरण गर्दै ओलीले आफ्नै सो प्रस्ताव भुल्न नहुने बताएका थिए ।

ओलीको पछिल्लो व्यवहारले गर्दा उनी पनि आफूलाई अफ्ठेरो पर्दा आफू अनुकूल निर्णय गर्ने र त्यस बाहेक आफूलाई समस्या पर्दा अनेकानेक प्रस्ताव ल्याउने गरेको भेटिएको छ । ओलीको यहि चरित्रले एमालेभित्र समेत उनी विरुद्धका मतहरु बढ्न थालेका छन् भने ओली राजनीतिक रुपमा ईमान्दार होईन भन्ने मत पनि बढ्न थालेको छ । अहिले ओलीसँग न त माधव नेपाल छन् न त बामदेव न त झलनाथ खनाल नै ।

पहिले माधव नेपाल विरुद्ध लड्नको लागि तिनै बामदेवलाई काखी च्यापेर हिँडेका ओलीले अहिले पछिल्लो समय बामदेवलाई गरेको व्यवहारले पनि ओलीको गैरइमान्दार छवि स्पष्टै हुन्छ । उनले नहराएकै भएपनि अहिले बामदेवलाई ओलीले नै हराएको कुरा सर्वविदितै कुरा भईसकेको छ । २०७१ सालको महाधिवेशनपछि केपी ओलीले विशेषगरी आफ्ना सहयोगी बामदेव गौतमलाई धेरै ठाउँमा धोका दिईसकेका छन् । पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा समेत ओली नजिक भनिएका नेताहरु कै असहयोगका कारण गौतमले हार व्यहोर्नु परेको उनको क्षेत्रमा चर्चा छ ।   

एमालेका एक नेता भन्छन् ओली राजनीतिक रुपमा ईमान्दार नेता होईनन् भन्ने कुरा उनको पछिल्लो व्यवहारले दिईसकेको छ । अझ उनले बामदेव गौतमलाई पटक पटक दिएको धोकाले पनि उनको ईमान्दारिता माथि प्रश्न चिह्न खडा गरेको छ । विगतमा समेत ओली र प्रचण्डबीच भएका भद्र सहमति ओलीकै कारण टुट्यो र प्रचण्ड कांग्रेससँग जोडिन आइपुगे । पछिल्लो चुनावमा समेत सहकार्य गरेका एमाले र माओवादीले पार्टी एकता गर्ने सम्मको उद्घोष पटक पटक गरेता पनि पछिल्लो घटना क्रमले पार्टी भित्र 'स्पेस' पाइने कुरामा प्रचण्ड आशंकित बन्दै गएको उनका अभिव्यक्तिबाट प्रस्ट बुझ्न सकिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ