काठमाडाैं । प्रदेश प्रमुख र प्रदेशकाे अस्थायी राजधानी तोक्ने विषयमा कुरा मिलाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलका शीर्ष नेताहरुको बैठकमा राज्यको १९ हजार ७ सय ७५ रुपैयाँ खर्च भएको छ ।
तर, प्रधानमन्त्री कार्यालयले, नेतालाई खाजा खुवाउँदा उनीहरुका सुरक्षार्मी र चालकलाई भने वास्ता गरेन विहिबार (अाज) बिहान ९ बजेदेखि करीब २ घण्टा चलेको बैठकमा प्रधानमन्त्री कार्यालयले खाजा खुवाएको थियो, अनमोल क्याटरिङबाट मगाएर ।
काँग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाका शीर्ष नेताहरु सहभागी बैठकका लागि परिकार थियाे, चीज स्याण्डवीच, ड्राइ चना, उसिनेको अण्डा, कर्न फ्लेक्स, दूध र मेवा । पाँचै पार्टीका नेताहरुका लागि अनमोल क्याटरिङले खाजाको बन्दो बस्त गरेको हो ।
बैठकमा ५ दलका २० जनाभन्दा कम नेता सहभागि थिए । तर, बैठकका लागि ५० जनाको खाजा मगाइएको थियो । शीर्ष नेताहरुलाई खाजा खुवाए बापत अनमोलले प्रतिव्यक्ति ३ सय ५० रुपैयाँको दरले १७ हजार ५ सय रुपैयाँ लियो । त्यसको १३ प्रतिशत भ्याट २ हजार २ सय ७५ रुपैयाँ । समग्रमा १९ जहार ७ सय ७५ रुपैयाँ ।
यसअघिका बैठकमा नेताहरुलाई यही मेनुको खाजा खुवाउँदा अनमाेलले बाहिर पर्खेर बस्ने सुरक्षाकर्मी र चालकलाई चिया कफि र कूकिज खुवाउने गर्थ्यो । तर, याे पल्ट उनीहरुलाई खाजा नखुवाइएको अनमोलका कर्मचारीले जानकारी दिएका छन् ।