arrow

चिसोले लियो पाँच जनाको ज्यान 

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
cold-at-terai.png

लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । 

अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो । 

जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिए । 

यस्तै चिसोकै कारण शनिबार धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको छ । 

श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित महतोको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका छन् । 

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अत्यावश्यक कामबाहेक नागरिक घर बाहिर निस्कन सकिरहेको छैनन् भने अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका बिरामी बढेका छन् । 

यसैबीच सिरहाको विष्णुपुर गाउँपालिकाले ३०० विपन्न गरिब घर परिवारलाई कम्बल बितरण गरेको छ । गाउँपालिकाको पाँच वटै वडाका ७५ वर्ष नाघेको वुद्धा, दलित, अपांग, सुत्केरी महिला र असहाय बालबालिका तथा अति विपन्न परिवारलाई कम्बल वितरण गरेको गाउँपालिका प्रमुख जागेश्वर यादवले बताए । 

यता, विगत चार-पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । 

ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । 

मुसहर समुदायका बालबालिका र वृद्धवृद्धा प्रभावित 

यसैगरी केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ । 

हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्नको लागि कम्बलसमेत नहुँदा जनजीवन निकै कष्टकर बनेको स्थानीय श्रवण सदाले गुनासो गरे । 

त्यहाँ रहेका करिब ५०–६० घर परिवारका दलित बस्तीका बालबालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएको उनले बताए । 

चिसो हावासँगै बढेको अत्यधिक जाडोका कारण काम गर्न समेत जान नसकेकाले आफ्नो दिनचर्या बिताउन पनि समस्या हुने गरेको हनुमाननगर कंकालनी नगरपालिका–२ का नरेश सदाले आफनो दुखेसो पोखे । 

जाडोबाट बच्नका लागि तत्काल न्यानो कपडा कतैबाट सहयोग नपाएकाले अहिले उनीहरुको जनजीवन कष्टकर बनेको बताइएको छ ।

त्यस्तै हनुमानगर कंकालनी नगरपालिका–५ मा रहेको मुसहर दलित समुदायका बासिन्दासमेत चिसोका कारण प्रभावित भएको स्थानीय मनोज मेहताले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ