गोविन्द केसीले प्रधानन्यायधीशलाई माफिया भने, संघर्षको चेतावनी
प्रकाशित २०७४ पुष २३ आइतबार
197
Shares
काठमाडौं । सर्वोच्चले चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको डीनबाट बर्खास्त भएका डा. शशि शर्मालाई पुनःवहाली गर्न दिएको आदेशको डा. गोविन्द केसीले विरोध गरेका छन् ।
केसीले आइतबार विज्ञप्ति जारी गरेर सर्वोच्चको आदेशको विरोध गरेका हुन् । प्रधान्यायाधीश गोपाल पराजुलीसहितको संयुक्त इजलासले शर्मालाई पुनःवहाली गर्न आदेश दिएको हो । डा. केसीले कनिष्ठ शर्मालाई डीन बनाएको भन्दै अनसन छेडेपछि सरकारले हटाउने निर्णय गरेको थियो । केसीले विज्ञप्तिमा भनेका छन्, ‘स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि हामी निरन्तर संघर्षरत रहँदै आएको विदितै छ । त्यस क्रममा मेडिकल माफिया र न्यायालयबीचको साँठगाँठबारे समेत हामी बारम्बार बोल्दै र चेतावनी दिंदै आएका छौं ।’
उनले अगाडि भनेका छन्, ‘हालै आइओएम डिन नियुक्तिको ४ वर्ष पुरानो मुद्दामा सुनियोजित रुपमा मेडिकल माफियाको स्वार्थ र साँठगाँठ अनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला गर्दै तत्कालीन प्रधान न्यायधीश तथा सरकारप्रमुख खिलराज रेग्मीको सरकारले बर्खास्त गरेका माफियालाई आइओएमको डिन पदमा फर्काइएकोमा त्यसप्रति घोर आपत्ति जनाउँदै त्यसको सशक्त प्रतिरोध गर्ने जानकारी गराउन चाहन्छौं ।’
डा. केसीले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफियाहरुविरुद्ध लड्नुको विकल्प नभएको उल्लेख गरेका छन् । केसीले यो विषयमा उठाउने आगामी कदमहरुबारे जानकारी गराउन भन्दै सोमबार दिउँसो पत्रकार सम्मेलन राखेका छन् ।