ओली बैंकक जानुअघि पार्टी एकता संयोजन समितिको बैठक बस्ने
प्रकाशित २०७४ पुष २३ आइतबार
463
Shares
काठमाडौं । लामो प्रतिक्षापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबारे वात मारेका छन् ।
चितवनबाट काठमाडौं फर्किए लगत्तै प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगे । केही दिन पहिले ओली निवासको वार्दलीमा वात मार्न पुगेका प्रचण्ड यो पटक भने ओलीलाई भेट्न भित्रै पसे । केही दिनदेखि अस्वस्थ अाेली घर बाहिर निस्केका छैनन् । काठमाडौंको तापक्रम पनि निकै चिसिएको छ ।
ओली नियमित स्वास्थ्य परीक्षणलागि लागि वुधबार बैंकक जाने तय भएकाले मंगलबार दुई शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक डाकिएको ओली निवासबाट बाहिरिएका दाहालले–भने ।
उनले अगाडि भने, ‘राष्ट्रिय सभाको निर्वाचनको बारेमा, प्रदेशको सरकार गठनको बारेमा, मुख्य रुपमा पार्टी एकताकै विषयमा हामीले छलफल भयो । जुन प्रक्रियामा हामी अगाडि बढेका छौँ त्यसलाई निष्कर्षमा पुर्याउनै पर्छ भन्ने कुरा भयो ।’
अब पार्टी एकताको काम तीब्र रुपमा अघि बढ्ने छ, दाहालले भने, ‘त्यसका लागि सोमबार (भोलि) आ–आफ्नो पार्टीको तहमा छलफल गरेर मंगरबार (पर्सि) पार्टी एकता समितिको बैठक बस्ने र पार्टी एकता संयोजन ससितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउनको लागि वैचारिक र राजनीतिक काम तथा सांगठनिक दुईटै काम गरेर एउटा टिम बनाएर जिम्मा दिने र केही दिन भित्र यो प्रक्रियालाई निष्कर्षमा पुर्याउने भन्ने सहमति भयो ।’