arrow

बडादशैंः १०:५५ बजे टीकाको शुभसाइत

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1844508556.jpeg
काठमाडौँ। आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ । 
 
नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार यस वर्ष महानवमी र दशमी(विजयादशमी) एकै दिन परेको छ । यस वर्ष विहान १०: ४५ बजे देवी विसर्जन र १०:५५ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । 
 
असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ । दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ । 
 
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना
राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताउनुभएको छ । 
 
बडादसैं २०७२ का अवसरमा राष्ट्रपति डा यादवले दिनुभएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाउनुभएको छ । 
 
‘‘जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको सुअवसरमा पुनः हार्दिक बधाई ज्ञापन गर्दछु’’ उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरुप प्राप्त गरेका छन् ।’’ 
 
सन्देशमा संविधान निर्माण आफैँमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ । 
 
संविधानले हिमाल, पहाड, तराई, मधेश या पूर्व–पश्चिममा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र, जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न उल्लेख्य योगदान दिन सफल रहोस् भन्ने कामना राष्ट्रपतिको रहेको छ । 
 
‘‘चाडपर्व नेपाली समाजका गहना हुन् । हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्’’ सन्देशमा भनिएको छ, ‘‘विभिन्न जात–जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्परा हाम्रो राष्ट्रिय एकताको मियोका रुपमा रहेका छन् ।’’ 
 
उहाँले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रुपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताउनुएको छ । 
 
विनाशकारी भूकम्पले फैल्याएको सन्त्रास र क्षतिबाट मुलुकको ठूलो भू–भाग अद्यापि आक्रान्त रहिरहेकै अवस्थामा देशको केही भ–ूभाग, विशेषतः तराई, मधेश आन्दोलित र अशान्त हुन पुगेको तथा निरन्तरको बन्द, हड्ताल र असुरक्षाले तराई, मधेशका जनताको जीवनयापन अत्यन्त कष्टकर हुँदै गइरहेको स्मरण गराउँदै उहाँले लाखौँ बालबालिकाको पढाइ बर्बाद भएको, सिङ्गो मुलुककै उद्योग, कलकारखाना, बैंक–वित्तीय प्रणाली र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्न थालेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको छ । 
 
सन्देशमा भनिएको छ, ‘‘लोकतन्त्रमा विरोध, हड्ताल र आन्दोलनलाई स्वभाविक प्रक्रियाका रुपमा लिइन्छ । विरोध र आन्दोलनको स्वरुप भने सधैं लोकतान्त्रिक र शान्तिपूर्ण हुनुपर्ने हुन्छ । आन्दोलनकारीप्रति राज्यका व्यवहार पनि संयमित र सहिष्णु हुनु अति जरुरी हुन्छ ।’’ 
 
लोकतान्त्रिक पद्धतिको सीमाभित्र रहेर उठाइने विरोधका आवाज र आन्दोलनका मागलाई गम्भीर र संवेदनशील ढङ्गबाट ग्रहण गरी वार्ता, छलफल आदिको माध्यमबाट संवोधन गर्नु लोकतान्त्रिक सरकारहरुको कर्तव्य हुन आउने तथा परिवर्तन र लोकतन्त्रको सङ्घर्षमा सधैंँ अग्रपङ्तिमा रहँदै आएका तराई, मधेशका जनताको आवाज सुन्न र त्यहाँको समस्याको समाधान पहिल्याउन अरु ढिलाइ नगर्न संवद्ध सबै पक्षसँग राष्ट्रपतिले आग्रह पनि गर्नुभएको छ । रासस 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ