arrow

प्रा डा गोविन्द केसी सर्वोच्च अदालतमा 

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
govinda-kc.JPG

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । 

केसीलाई मंगलबार बिहान ९ बजे अदालत उपस्थित गराउन आदेश दिएसंगै ९ बजे अगावै केसीलाई अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

यता, पक्राउको विरोधमा ऐक्यवद्धता जनाउँदै विभिन्न राजनीतिक दलका नेताहरुदेखि लिएर नागरिक समाजले ऐक्यवद्धता जनाएको छ । 

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अपरान्हदेखि शिक्षण अस्पतालमा आमरण अनशनमा बसेका गोविन्द केसीलाई सर्वोच्चको आदेशमा सोमबार नै पक्राउ गरिएपछि त्यसको विरोधमा स्वतस्फूर्त रुपले ऐक्यवद्धता जनाइएको हो । 

माइतीघर मण्डलामा भएको ऐक्यवद्धतामा नेपाली काँग्रेसका नेता गगनकुमार थापा, नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक मण्डलका रविन्द्र मिश्रसहित नागरिक सामाजका अगुवाहरुसमेत उपस्थित भइ ऐक्यवद्ध भएका छन् । 

उनीहरुले भ्रष्टाचार र वेथितिविरुद्ध एक हुन पनि सबैलाई आग्रह गरेका छन् । उनीहरुले डा केसीको दृढ इच्छाशक्तिलाई सलाम भनेका छन् । 

सर्वोच्च अदालतले आइतबार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनबाट बर्खास्तीमा परेका डा शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा केसीले अनशन सुरु गरेका थिए । 

डा केसीले प्रधानन्यायाधीश पराजुली ‘भ्रष्ट र माफिया’ भएको आरोप लगाएपछि उनलाई पक्राउ गरी अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको थियो । 

डा केसीले नेपालका न्यायालयहरु न्याय दिनेभन्दा पनि न्याय किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुलाई संरक्षण दिने तथा इमान्दारहरुलाई दन्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको आरोपसमेत लगाएका थिए । 

केसीको पक्राउबारे गृहमन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत जानकारी नभएपछि स्थिति गम्भीर बनेको छ । 

सर्वोच्च वरिवरि सुरक्षाकर्मीले घेरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ