arrow

ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले बिहिवारबाटै काम शुरु गर्ने निर्णय

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
balkot.jpg

भक्तपुर ।  नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले बिहिवारदेखि आफ्नो काम शुरु गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधवार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम शुरु गर्ने भएको हो ।

ओली निवासको बैठकका बारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा भोलिबाटै काम शुरु गर्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको जानकारी दिए । उनले बिहिवारदेखि नै कार्यदलले सघन रुपमा काम शुरु गर्ने बताए  । यो बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उनले दुई पार्टी छिट्टै पार्टी एक हुने दाबी गरे।

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ ।

प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट सङ्ख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसद्मा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेड पाएको पुनले जानकारी दिए ।

बैठकबारे जानकारी दिँदै एमाले नेता तथा कार्यदल सदस्य शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएको जानकारी दिए ।

प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उनले जानकारी दिए । छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष दाहालबीच थप छलफल भएको थियो ।

गठबन्धनले गरेको कार्यदलमा एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका थिए । बुधवारको बैठकका पाण्डे र यादव भने उपत्यकाबाहिर भएकाले बैठकमा उपस्थिति नभएको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ