arrow

दलहरुले गरेको फोहर दुई पत्रकारले सफा गर्दै

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
sarasafai.jpg

चरिकोट । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् । 

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा जुटेका हुन् । 

उनीहरुले बजारमा कुचो लगाउनेदेखि आफ्नो टोलतिर देखिएका ससाना फोहरसमेत टिपेर फाल्न शुरु गरेका छन् । राजनीतिक दलले चुनाव सकिएपछि पनि ती सामग्री नझिकेपछि अहिले ती झण्डा र ब्यानर धुलो जमेर फोहरमा परिणत भएका छन् । 

तिनै फोहरले गर्दा बजारमा फोहर देखिएको भन्दै सदरमुकाम चरिकोट र आफ्नो टोललाई प्रत्येक दिन सरसफाइ गरेर लैजाने बताएका छन् । 

पत्रकार खतिवडाले आफूहरुले शुरु गरे मात्रै अरुलाई भन्न सुहाउने भन्दै बजारभित्र टाँगिएका ब्यानर र झण्डा निकालेर फालिदिएका छन् । 

खतिवडा आफैँ भर्याङ लिएर पोल चढेर पोलबाट झण्डा, ब्यानर निकालिरहेका छन् भने मास्केले भर्याङ समातेर र फोहर टिपेर सहयोग गरिरहेका छन् । 

यो अभियानमा उनीहरुले चरिकोटवासीलाई पनि सामेल गरिरहेका छन् ।

यसलाई चरिकोटवासीले खुलेरै प्रसंसा गरेका छन् । खतिवडा नागरिक दैनिकमा कार्यरत छन् भने मास्के नेपाल समाचारपत्र दैनिकमा कार्यरत छन् । 

बजार सफा र स्वच्छ राख्न बजारवासीलाई सहयोग गर्न दुवै पत्रकारले अनुरोध गर्दै आफ्नो टोलमा प्रत्येक शनिबार सरसफाइ गर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ