रातारात हराएको रानीपोखरीको बालुवाबारे अब त केही बोल्लान् मेयरसा'प ?
प्रकाशित २०७४ माघ ४ बिहिबार
536
Shares
काठमाडौं । गत पौष १३ गते रानीपोखरीमा सम्पदाको विवाद चलिरहँदा रानी पोखरी भित्र रहेका १ नम्बरी बालुवा भने रातारात तस्करी हुने गरेको आरोप सहितको समाचार हाम्राकुरा डटकममा प्रकाशित भएपछि स्थानीयहरुले समेत यस विषयमा खोजी गरेका छन् । बुधबार काठमाडौं महानगरपालिकाले रानीपोखरीको विषयमा बहस गर्नको लागि आयोजना गरेको सार्वजनिक सुनुवाईको क्रममा बोल्दै त्यहाँ उपस्थित विज्ञहरुले रानीपोखरीको बालुवाको विषयमा समेत मेयरमाथि सवाल उठाएपछि यो विषय झनै पेचिलो बन्न पुगेको छ ।
काठमाडौं महानगरपालिकाले रानीपोखरी क्षेत्रमा खटाएका एक कर्मचारीले नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार त्यतिबेला नै डोजरले खनिरहेको रानीपोखरी क्षेत्रमा झण्डै ४ ईन्च गहिराईसम्मको बालुवा रातारात हराउने गरेको तथ्य सार्वजनिक भएको थियो। तर त्यतिबेला महानगरका जिम्मेवार पदाधिकारीहरुले भने यो कुरा स्वीकारेका थिएनन्।
रानी पोखरी भित्रको बालुवालाई यस भन्दा अघि रानीपोखरीमा राख्दा नै उच्च गुणस्तरको बालुवा मानिएको छ । त्यतिबेलासम्म नै झण्डै २० लाख बराबरको बालुवा तस्करी भईसकेको भन्ने सूचना आएपछि त्यहाँ धेरै स्थानीयको समेत चासो बढेको थियो । सोही चासो बुधबारको बैठकमा पोखेका छन् ।
संरक्षण अभियानसँग जोडिएका शैलेश शाक्यले रानीपोखरी जिर्णोद्वार क्रममा पानी सुकाएपछि त्यहाँको गुणस्तरीय कालो माटो, बालुवा र मल्लकालीन इँटा अन्तै ओसारिएको बताए। ‘रानीपोखरीबाट झिकिएको कालो माटो, बालुवा र मल्लकालीन इँटा कहाँ–कहाँ ओसारियो, त्यसको खोजबिन हुन्छ कि हुँदैन ?’ भन्ने प्रश्न शाक्यको थियो ।
आफैंले आयोजना गरेको सो कार्यक्रममा मेयर र उपमेयर भने उपस्थित भएका थिएनन् । त्यहाँ उपस्थित भएका थिए भने मेयरले यसको जवाफ त्यहिँ नै दिने थिए होला । तर, उनी त्यहाँ नभएकोले सो प्रश्नको जवाफ उनले सार्वजनिक स्थानमा दिन्छन् कि दिँदैनन् भन्ने कुरा महत्वपूर्ण बनेर आएको छ । आफैंले आयोजना गरेको कार्यक्रममा उठेका प्रश्नको उत्तर दिएनन् भने मेयर शाक्य आफैंमा झनै आलोचनाको पात्र बन्ने पनि निश्चित नै छ ।
हाम्राकुरामा आएको बालुवा हराएको विषय वास्तवमा त्यही आरसीसी पर्खाल बनाउन ठेकेदारले नै तस्करी गर्ने गरेको भेटिएको समाचार पछि सार्वजनिक भएको थियो । रातीराती रानीपोखरीबाट बालुवा बाहिर लैजाने र त्यही बालुवालाई नम्बरी बालुवा ल्याएको देखाएर कर्मचारीहरुकै मिलेमतोमा तस्करी गर्ने गरेको भेटिएको हो । सोही मेसोमा केही बालुवा बाहिर पनि बेचिएको भेटिएको थियो। यसबारे महानगरपालिकाका मेयरलाई समेत जानकारी भएपनि उनले केही बोल्ने नगरेको आरोप समेत लाग्ने गरेको थियो । यही आरोपलार्इ पुष्टि गर्नेगरी सार्वजनिक सुनुवार्इका क्रममा विज्ञहरुले नै प्रश्न उठाउन थालेपछि मेयरलार्इ यस विषयमा बोल्नको लागि थप दबाब परेको हो ।