सभापतिको भेला बसेको भोलिपल्टै भक्तपुरबाटै काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरण अभियान
पुस्कर वुढाथोकी,
प्रकाशित २०७४ माघ ६ शनिबार
492
Shares
भक्तपुर । प्रदेश नम्वर ३का विभिन्न जिल्लाका नेपाली काँग्रेसका सभापतिहरुको भेला भएको भोलिपल्टै नेपाली काँग्रेसका विभिन्न तहका नेताहरु पनि भक्तपुरमै पार्टी शुद्धिकरण र सुदृढीकरणका विषयमा छलफल गर्न भेला भएका छन्।
नेपाली काँग्रेसका जिल्ला तथा केन्द्रीय तहका नेता तथा बुद्धिजिवीहरुले पार्टीलाई शुद्धीकरण तथा सुदृढीकरणको आवश्यकता महशुस गरि अभियान थालेका छन्। उनीहरुले यो अभियान भक्तपुरबाटै शुरु गरेका हुन्।
‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरण अभियान शुरु भएको हो। यहि अभियानको सिलसिलामा एक दिने कार्यशाला भक्तपुरमा गरिएको छ।
हालै सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्दै पार्टीलाई मजबुत बनाउने अभियान भक्तपुरबाट शुरु भएको नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता विनोद कायस्थले बताए ।
पार्टीमा धेरै वर्ष योगदान दिएका, प्रजातन्त्रका लागि पटकपटक जेल परेका, अवसर र जिम्मेवारीबाट वञ्चित भएका, पार्टीको राजनीतिमा निरन्तर क्रियाशील रहेका, तरुण, विद्यार्थी, महिला तथा देशभरका १३० पुराना नेता एवं पूर्वसांसदको कार्यशालामा सहभागिता रहेको थियो ।
कार्यशालाबारे जानकारी दिँदै कायस्थले भने, “देशमा हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गर्दै काँग्रेसले भोग्नु परेको पराजयको कारण खोज्ने, आएको समस्या केलाउने, अबका चुनौतीहरु के के छन् पहिचान गर्ने, पार्टीको अबको कार्यदिशा के हुन सक्छ भन्ने खोज्ने र पार्टीको विधानलाई समयानुसार परिमार्जन गर्नेबारेमा सुझाव संकलन गर्नका लागि कार्यशाला आयोजना गरेका हौँ ।”
भेलाले काँग्रेसको कुनै व्यक्ति वा गुटको पक्ष वा विपक्षमा नलागी नितान्त काँग्रेस पार्टीलाई सुदृढ बनाएर लैजानेबारे बृहत छलफल गरी घोषणापत्र जारी गर्ने जानकारी दिँदै उहाँले यो अभियानलाई देशका सातवटै प्रदेशमा लैजाने बताए ।
कार्यशालामा सहभागि रहेका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं काँग्रेसका नेता तारानाथ दाहालले पार्टीलाई आदर्श र सिद्धान्तबाट चलायमान गर्दै नीति नियमबाट चलाउन सुझाव दिनका लागि अभियान महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा काँग्रेस नेता तथा कार्यक्रम संयोजक बिमल संग्रौला, मोहन बराल, उमेशजंग रायमाझी, नारायण भट्टराई लगायत देशभरबाट भेला भएका नेताहरुले काँग्रेसलाई व्यक्तिवादी रुपमा लैजाने र गुट बनाएर जाने प्रबृत्तिको अन्त्य गर्दै सिंगो काँग्रेस, हाम्रो काँग्रेसको रुपमा अगाडि बढाउन देशभरका काँग्रेस लाग्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सहजकर्ताको रुपमा तारानाथ दाहाल, देवराज चालिसे, पुरन्जन आचार्य, डा.अन्जनी झा र तारा भण्डारी छन् ।