arrow

सुमार्गीको सम्पत्तिबारे 'प्रि–इन्भेष्टिगेशन' सकियो, 'इन्भेष्टिगेशन'मा जाने प्रक्रियामा छौं : राणा

प्रचण्डसँग जोडेर कुरा गर्नुको कुनै तुक छैन : बस्नेत

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
udaya_shamser_rana.JPG

काठमाडौं । अर्थराज्यमन्त्री उदयशमशेर राणाले व्यवसायी अजेयराज सुमार्गीको सम्पत्तिको बारेमा गरिएको छानबिन दोस्रो चरणमा पुगेको बताएका छन् ।  मन्त्री राणाले अर्थ मन्त्रालयले पहिलो चरणको अनुसन्धान सम्पन्न गरेर दोस्रो चरणको छानबिनका लागि अन्तराष्ट्रिय संस्थासँग समन्वय गर्न लागिएको बताएका छन्  ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री राणाले सुमार्गीले विदेशबाट नेपालमा पैसा ल्याएको भन्ने विषयमा नेपालमा मात्रै अनुशन्धान गरेर सबै कुरा पत्ता लगाउन नसकिएको बताए । उनले भने,“नेपालमा मात्रै अनुसन्धान गर्न सकिँदैन । विदेशी संस्था र बैँकसँग पनि समन्वय गर्नुपर्छ । त्यो चरण सुरु भएको छ ।” मन्त्री राणाले अघि भने,“प्रि–इन्भेष्टिगेशन सकिएको छ । अब इन्भेष्टिगेशनमा जाने प्रक्रियामा छौं ।”

अनुसन्धानका क्रममा सुमार्गीले कहाँबाट कसरी पैसा ल्याएर र उक्त पैसा कहाँ लगानी भएको छ भन्ने कुराको विषयमा अनुसन्धान भईरहेको राणाले बताए । सुमार्गीले स्रोत नखुलेको अरबौँ रकम नेपाल ल्याएको र अझै मोटो रकम भित्र्याउन प्रयासमा रहेको आरोप लाग्दै आएको छ ।

फरक प्रसंगमा मन्त्री राणाले कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गरे । संविधानअनुसार प्रक्रिया पूरा गरेपछि सरकार हस्तान्तरण हुने राणाको भनाई थियो ।  संविधानअनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भएकाले राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने राणाले बताए ।


वाम गठबन्धनका कारण नै कांग्रेसले चुनाव हारेको भन्दै राणाले केन्द्रिय समिति बैठकमा चुनावी समिक्षा सुरु भएको बताए । केन्द्रिय समितिमा समिक्षा गरेपछि महासमिति बैठक बसेर पराजयको समिक्षा हुने राणाको भनाई छ ।

नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले तत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बताएका छन् ।  पूर्व गृहमन्त्री समेत रहेका नेता बस्नेतले पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बताउँदै दुवै पार्टीको वैचारिक पक्षका सकारात्मक कुरालाई समेटेर नयाँ पार्टी बनाइने बताए । पार्टी एकता गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाने उनको भनाई थियो ।

राष्ट्रियसभाको चुनाव सम्पन्न हुँदासम्म पार्टी एकता हुने दाबी गर्दै उनले फागुनको दोस्रो हप्ता एकीकृत पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।  पार्टी एकता संयोजन समितिले सम्मानजनक तरिकाले कार्यविभाजन गरेर एकता प्रक्रिया टुङ्ग्याउने बस्नेतको भनाई छ । “दुई फरक धारका दलबिचको एकता जटिल छ । कम्युनिष्टका दुई फरक धारका वैचारिक पक्षलाई मिलाएर पार्टी एकता गर्छौँ ।” बस्नेतले भने । “ फेरी अर्को कम्युनिष्ट पार्टी हुने छैन भन्ने गरी सबैको कम्युनिष्ट पक्षधरको भावना समेटेर नयाँ पार्टी बनाउँछौँ । एमालेको शान्तिपूर्ण कम्युनिष्ट धार र माओवादीको सशस्त्र कम्युनिष्ट आन्दोलनका भावनालाई समेटेर एकता गर्छौँ ।”

राष्ट्रियसभा चुनावका लागि कतिपय व्यवहारिक पक्षलाई हेरेर तालमेल गरिएकाले माओवादी ३३ प्रतिशतमा खुम्चिएको बस्नेतको भनाई थियो । “जनताको अपेक्षा र आफूहरुले गरेको प्रतिबद्धतालाई प्राथमिकतामा राखेका छौँ । देशको हितलाई केन्द्रमा राखेर अगाडि बढेका हौँ ।” बस्नेतले भने ।

२००७ सालदेखि अहिलेसम्म कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेकाले जनताले वाम गठबन्धनलाई स्थिर सरकार विकासका लागि म्यान्डेट दिएको उनको भनाई थियो ।  

बस्नेतले आवश्यकता अनुसार सबैको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै सुमार्गीको पनि हुनुपर्ने बताए । व्यक्तिगत रुपमा कसैका बारेमा बहस गर्नुभन्दा पनि शुसाशन कायम राख्नका लागि आवश्यक काम सरकारले गर्नुपर्ने बस्नेतको भनाई थियो ।
 
सुमार्गी र माओवादी अध्यक्षबीचको सम्बन्धका बारेमा अनावश्यक चर्चा भएको बस्नेतको स्पष्टोक्ति थियो । “तथ्यको पारख नगरी प्रचारको पछि नलाग्न म आग्रह गर्छु । प्रचण्डसँग जोडेर कुरा गर्नुको कुनै तुक छैन”–बस्नेतले भने ।

प्रचण्डको राजनीतिक संरक्षणमा सुमार्गीले अवैध रुपमा नेपालबाट विदेश पैसा लाने र फर्काउने गरेको र संरक्षण रहेको भन्ने आरोप लाग्दै आएपछि नेता बस्नेतले त्यसको खण्डन गरेका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ