काठमाडौँ। मधेशी जनाधिकार फोरमका अध्यक्ष विजय कुमार गच्छेदारले राष्ट्रपतिमा साझा उम्मेद्वार हुनुपर्नेमा जोड दिनुभएको छ। नेपाली काँग्रेसका सभापति शुसिल कोइरालासँग भेटवार्ता गरेर फर्केपछि संवाददाताहरुसँग कुरा गर्दै गच्छेदारले राष्ट्रपतिमा साझा उम्मेद्वार हुनुपर्नेमा जोड दिनुभएको हो। संविधान जारी हुनुअघी चार दलबीच भएको भद्र सहमति अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्नेमा उपप्रधानमन्त्री समेत रहनुभएका फोरमका अध्यक्ष विजय कुमार गच्छेदारले बताउनुभएको हो।
नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ बजे संसद् बैठक बस्दैछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ।
“सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने प्रबल सम्भावना छ,”– निर्वाचनबारे जानकारी दिँदै व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताउनुभयो।
राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएर निर्वाचन भएमा उम्मेदवारले प्रचारप्रसारका निम्ति कात्तिक ९ गते समय दिन सक्ने समेत सचिवालयको तयारी छ। दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ।
राष्ट्रपतिको निर्वाचन तयारी हुँदै गर्दा दलहरुले आफ्नो उम्द्वार तय गर्न आन्तरिक गृहकार्य गरेका छन्। नेपाली काँग्रेसले शनिवार नै बस्ने केन्द्रिय समितिको वैठकबाट उमेद्वार तय गर्ने बताएको छ। काँग्रेस सभापति शुसिल कोइरालाको निवास महाराजगञ्जमा पदाधिकारीको वैठक बसे लगत्तै केन्द्रिय समितिको वैठक बस्ने बताइएको छ। सत्तारुढ दलको पनि राष्ट्रपति र उपराष्ट्रपतिको उमेद्वार चयन गर्ने विषयमा वालुवाटारमा छलफल भइरहेको छ।
एमालेका प्रधानमन्त्री एमाओवादीको सभामुख भएपछि काँग्रेसलाई राष्ट्रपति बनाउनुपर्ने मत सत्तारुढ दलहरुमा समेत बनेको छ। यस अवस्थामा सबैलाई सहमत गराउन सक्ने साझा उमेद्वार बनाउन काँग्रेसलाई चुनौति छ।